× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

सैद्धान्तिक समर्पण विना काङ्ग्रेस हुन नसक्ने : सभापति कटेल

Simrik Online

२३ भाद्र २०७७, बुधबार

सोलुखुम्बु । नेपाल विद्यार्थी संघ साेलुखुम्बु र स्वतन्त्र विद्यार्थी युनियन हिमालदर्शन क्याम्पसकाे संयुक्त आयाेजनामा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । हिमाल दर्शन क्याम्पस परिसरमा ५ प्रजातिका ४० बिरुवा राेपिएकाे जानकारी स्ववियु उपसभापति विनाेद बास्ताेलाले दिएका छन् ।

वृक्षारोपण लगत्तै नेविसंघ सोलुखुम्बुका सचिव एवं स्ववियु सभापति उद्योग राईको अध्यक्षतामा स्ववियु सभाहलमा भएकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै नेपाली काङ्ग्रेस नेचासल्यानका सभापति निरकुमार शर्मा कट्टेलले आस्था, विश्वास र सैद्धान्तिक समर्पण विनाकाे व्यक्ति नेपाली काङ्ग्रेस हुन नसक्ने भन्दै बीपी विचारकाे अध्ययन, मनन र जीवनमा प्रयाेग गर्न सकेमात्र बीपीप्रति सच्चा श्रद्धा हुने बताएका छन् । एक फरक प्रसङ्गमा बाेल्दै सभापति कटेलले गाउँपालिकाले उपलब्ध गराएकाे खर्च विवरण समितिले अध्ययन गरिरहेकाे र अध्ययन सकिनासाथ पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने पनि बताएका छन् । 

कार्यक्रममा बाेल्दै नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्ताेलाले बीपी विचार बिनाको काङ्ग्रेस, कांग्रेस नै नहुने बताएका छन् । उनले काङ्ग्रेस गुट-उपगुटमा लागेकाे भन्दै आगामी अधिवेशनबाट पनि नसुध्रिए अर्को बीपी जन्म-जयन्ती मनाउने हैसियतमा नपुग्ने चेतावनी समेत दिएका छन् ।

सामाजिक लाेकतन्त्र अध्ययन केन्द्र सोलुखुम्बुका सचिव देवेन्द्र शर्मा जमरकट्टेलले कार्यक्रममा बीपी काेईरालाकाे व्यक्तित्वबारे चर्चा गर्दै श्रद्धा र स्मरणका दृष्टिले तस्वीरमा माल्यार्पण राम्रै भएपनि वैचारिक दृष्टिकोण दिने राष्ट्रवादी नेतृत्वको तस्वीर माल्यार्पण मात्रले टार्नु ठुलाे दुर्भाग्यपूर्ण भएको भन्दै बीपीका कालझै सिद्धान्त, विचार र चिन्तनहरूकाे याेजना निर्माण गरि नेपाली भूमि सुहाउँदो विकासको माेडल तयार हुने हाे भने नेपालकाे याे अवस्था नहुने बताएका छन् । बीपी विचारमा विमर्श, तर्क-वितर्क भन्दा कर्मकाण्डी प्रवृत्ति देखाउनाले आज नेपाली काङ्ग्रेस जनताका माझमा पातलाे हुन थालेकाे उनको जिकिर छ ।

गिरिजाप्रसाद काेइराला अध्ययन केन्द्रका अध्यक्ष हेमराज शर्मा कट्टेलले विचारकाे मात्रै गुट हुने र कांग्रेस गुट भन्दा गिराेह ज्यादा सक्रिय रहेकाे बताएका छन् ।

कार्यक्रमका सभापति उद्योग राईले १०७ अाैं जन्म-जयन्तीका अवसरमा गरिएकाे वृक्षाराेपणले रुग्ण हुँदै गएको रूखलाई विस्थापित गरि नयाँ हराभरा रूखलाई स्थापित गरेर काङ्ग्रेसजनमा सुधार र सु-संस्कारकाे मार्ग देखाउन खाेजेकाे दावी गरेका छन् ।

कार्यक्रममा हिमाल दर्शन क्याम्पसका क्याम्पस प्रमुख वसन्तकुमार शर्मा, नेपाल शिक्षक महासंघ नेचासल्यान अध्यक्ष अशाेककुमार शर्मा कट्टेल, शिक्षक तथा समाजसेवी वेदनाथ बास्ताेला, यादवकुमार फुयाल, गुणराज राउत, टारकुमार आचार्य, हेमराज भट्टराई, बाबुराम भट्टराई, पूजा फुयाल, रोशन राउत लगायत नेता तथा कार्यकर्ताहरुकाे बाग्लो उपस्थिति रहेकाे थियो ।