× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

बीपी स्वाभिमानकाे अर्काे नाम

Simrik Online

२३ भाद्र २०७७, बुधबार

✍️ देवेन्द्र शर्मा जमरकट्टेल

युद्धले बुद्धलाई नचिन्नाले अनेक अनाहकमा सहादत हुने रहेछ । यसैकाे वरिपरि आज पनि ताते सर्दैछ समाजवादी याेजना । आफ्नै मातृत्वकाे काखबाट घाँटी निमाेठेकाे घाइते जस्तो तड्पिरहेकाे छ बीपीकाे समाजवादकाे याेजना !

द्विविधामा जन्मेकाे विद्रोही मान्छे :                      आज भाद्र २४ गते । विश्वेश्वरप्रसाद काेइरालाकाे १०७अाैं जन्म-जयन्ती । जन्मकाे प्राकृतिक प्रक्रियाभन्दा फरक ढंगले शल्यक्रिया मार्फत् पिताजी कृष्णप्रसाद काेइरालाकी कान्छी पत्नी दिव्या काेइरालाका पुत्ररत्नका रूपमा जन्मनुभएका नेपाली राजनीतिका युगद्रष्टा बीपीकाे अधिक स्मरण हुने दिन ! अनेक अभाव कष्ट र घर बाहिरकाे अवस्थामा नै उहाँको बालापन बित्याे । अराजक राणा प्रधानमन्त्री चन्द्र शमशेरकाे मित्था आराेपमा सर्वस्वहरण समेत भएपछि पिताजी प्रवास हुनुपरेकाे थियाे ।

भारतका विभिन्न ठाउँमा स्थानान्तरण हुँदै कष्टपूर्ण गुजारा चलाउन पिताजीका लागि जति चुनाैतिपूर्ण थियाे त्यति नै पीडा आमा दिव्या र बीपीलाई पनि थियाे । जानकारका अनुसार ४०/४५ जनाकाे परिवारकाे डफ्फासँगै ठूलाे हन्डरका साथ बाल्यकाल गुजारेका बीपीले “खान बस्नकाे सुख सुविधा नहुनुलाई दुःख ठानिन” भन्नुभएको छ । जसलाई एक असाधारण व्यक्तिको सहन क्षमताका रूपमा बुझ्दा फरक नपर्ला !

काेइरालाले “आफ्नाे कथा”मा लेख्नुभएको छ – “मेराे जन्म एउटा द्विविधामा भएकाे हाे ।..” जन्मने घडीमै मैले आफ्नाे अड्डीपनकाे पूरा परिचय दिएँ । म माथि त्यसदिन बल प्रयाेग गरिएकाे हुनाले हाे, किन हाे म जीवनमा आजसम्म विद्रोही रहेँ । मेराे जीवनमा त्यसै दिनदेखि विद्रोहकाे बीज राेपियाे हाेला ।” यसरी अभाव गरिबी र असहजताबाट गुज्रिनु एक राजनीतिक बाध्यता भएकाे बालापनमै अनुभूत भएर हाेला आफूले विद्रोह मार्फत् नेपाली समाजकाे परिवर्तन खाेज्न सक्ने आँट बीपीमा बाल्यकालदेखि विराजमान हुँदै गयाे । जसकाे जग नै नेपालमा २००७ सालकाे प्रजातन्त्रकाे स्थापनाकाे आधार समेत हाे ।

श्रेय नखाेज्ने राजनेता :

भनिन्छ, “आखिर मानिस न हाे ……।” भनेकाे मान्छेले लाेभ गर्छ । केही धनकाे । केही प्रतिष्ठाकाे ।
त केही जस वा अरू कुनै । याे लाेभ र पापले व्यष्ठित भएकाे समाजमा स्वभाविकै ठानिएला तर बीपीले श्रेयका सवालमा स्पष्ट भन्नुभयाे “मलाई यदि नेपाली जनताले श्रेय दिन खाेज्दछन् भने यसकारण नदेओस् कि मैले आफ्नाे वुत्ताबाट एक भ्रम सिर्जना गरे भनेर । मलाई श्रेय दिनुछ भने एउटै कुरामा देओस् कि मैले देश भित्र देशकाे सामर्थ्यलाई बुझेको रहेछु र देशकाे सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिस गरेकाे रहेछु । …त्यसैबाट मेराे कुरा इतिहासले मान्यता दियाे भने त्यही कुरा मेरा लागि सौभाग्य हुनेछ । झुठो कुरा दिएर केही हुदैन …।”

आज बीपीको तस्वीरमा माल्यार्पण भए लगत्तै ड्यासबाट झुठा सवाल र मुद्दामा जनतालाई तड्पाउनु नेतृत्वको मुख्य कर्म भएकाे छ ।
जब सत्ताराेहणमा समस्या उत्पन्न हुन्छ तब राष्ट्रियता र भाैगाेलिक अखनण्डताकाे आँधी श्रृष्टि गरेर नेताहरू सत्ता र कुर्सीकाे न्यानो बचाउन लाग्छन् । जनउत्तरदायी बन्नुपर्ने संसद भवन शक्तिको साझेदार संस्था जस्ताे निर्लज्ज मध्य सहरमा उभिदिन्छ । आजपनि तुईन विस्थापित गर्न नसकेको पीडाकाे पाेकाे बोकेर सिंहदरबार छिर्ने पास खाेज्दैछ मेराे कर्णाली । हरेककाे हरेकलाई हिसाब-किताब चाहिएकाे छ । श्रेय चाहिएकाे छ । मान र ख्याति चाहिएकाे छ ।

कामकाे बदलामा मान चाहिएकाे छ । पैसा चाहिएकाे छ। सिङ्गै नेपाली राजनीतिकाे एउटा विकृत अनुहारकाे अघिल्तिर बसेर मैले उनै बीपीका कालजयी विचार र समाजवाद उन्मुख नीतिलाई आत्मसाथ गर्दै व्यापार जस्तै बनेकाे वर्तमान राजनीति दुरावस्थालाई टेकेर बीपीकाे एक वाणीलाई स्मरण गर्ने चरणमा उभिनु परेकाे छ । “देशमा प्रजातन्त्र आएपछि माेटा-घाटा, सुकिला-मुकिला चिल्ला गाडी चड्नेहरूकाे पार्टीभित्र हावी हुनेछ त्यसकाविरूद्ध आम कार्यकर्ताले फेरि एकपटक सङ्घर्ष गर्नुपर्ने छ ।” याे भनाइ आज उनले स्थापना गरेकाे पार्टी नेपाली कांग्रेसमा मात्र हाेईन संसदीय पद्धतिमा विश्वास गर्ने हरेक दलकाे साझा सवाल जस्तै भएकाे छ । विना लाभकाे सिन्काे नभाच्ने वर्तमान राजनीति दुरावस्थाबाट नयाँ गति र दिशा नदिने हाे भने देशकाे के हाल हाेला भन्ने हामी सहज अनुमान लगाउन सक्छौं।
तसर्थ बीपीबाट मान काे हाेइन – स्वाभिमान काे राजनीति सिक्ने कि ?

बीपीकाे समाजवादकाे याेजना :

विद्वानहरु बीपीले समाजवादकाे सपना देख्नुभयो भन्नुहुन्छ । यस विषयमा मेराे फरक मत छ । निन्द्राकाे मान्छेले सपना देख्ने हाे । जागेकाे मान्छेले कल्पना गर्छ ।अझ, नेतृत्वको काम याेजना बनाउने हाे । तसर्थ म अक्सर, याेजना भन्छु । सरल भाषामा बीपीले भन्नुभएकाे छ । हाम्रो समाजमा अनेक रूपका विषमता छन् ।त्याे जाति, भाषिक, भाैगाेलिक वा कुनै पनि जसले साझेदारी वा वरावरीकाे अाैकात नदिओस् । तसर्थ हाम्राे मुल ध्येय नै “समानता”काे हाे । समाज शुद्ध भाैतिक व्यवस्था हाे । दैव संरचना हाेइन ।
दैविक संरचना मानवीय गुण हाे । फरक धर्म, संस्कार र आचरणका आफ्ना परम्परागत स्वार्थ छन् । जसरी हावा, पानी, जमिन आदि प्रकृतिका समान र निशुल्क प्राप्तहुने साधन छन् । त्यसैगरी राजनीतिक व्यवस्थाले पनि नागरिकलाई उत्पादन र वितरणमा समानता दिन सक्नु पर्छ । राष्ट्रिय आयमा बृहत वृद्धि विना समाजवादको परिकल्पना हुन नसक्ने बीपीकाे ठहर रहेकाे छ । हुने र नहुनेकाे असमानता लाई मेट्नु पर्छ । याे समानताकाे विषय हाे । सरल भाषाकाे समाजवादकाे परिभाषा हाे ।

सबै नेपालीको समान स्तरकाे जीवनशैली बनाउने तत्कालीन बीपीको याेजनालाई “सबै नेपालीकाेे घरमा दुहुनो गाई, हलगाेरू, खेतबारी, उपचार खर्च, स्कुल” आदिलाई आज हामीले दृष्टान्त ठानेर आजकाे युग सापेक्ष हुने समानतामुखी कार्यक्रम कार्यान्वयन गर्नु साँचो अर्थमा समानता हाे । संविधानले लेखेकाे समाजवाद !

नाराले देश नबन्ने रहेछ । देश बनाउने याेजक राजनीति व्यवस्था र राजनितीज्ञहरूकाे इच्छाशक्ति ले हाे तर नेपालकाे विडम्बना देश बनाउन जिम्मा पाएका नेताहरूले “देश दाेहन” गरेकाले हाम्रो वर्तमान उठन सकेन ।

वीरगन्ज महाधिवेशन (छैठौं २०१२) ले नेपाली काङ्ग्रेसकाे राजनीति जीवनमा “समाजवादी ” जीवनदृष्टि थपिदियाे । जुन आज पनि काङ्ग्रेसको आदर्श छ । जसले मुलतः गरिबी, अशिक्षा, पछ्याैटेपना, शाेषण, अन्याय र असमानताले जकडेकाे नेपाली समाजलाई मुक्त गराउन लोकतान्त्रिक वातावरणमा जीवन यापन गराउने एक कार्यक्रम हाे । उक्त अधिवेशनकाे निष्कर्ष के हाे भने “सामाजिक न्याय, समानता, शाेषण मुक्ति, अज्ञानकाे निवारण गर्नेु जरुरी छ ।” त्यस्तै “हाम्रो लक्ष्य समाजवादी समाजकाे निर्माण गर्नु हाे ।”

“……हामीले ल्याउन चाहेकाे त्याे समाजमा सबैलाई समान अवसर र समान स्वतन्त्रता रहनेछ” भनिएकाे छ । अझ महत्त्वपूर्ण कुरा के छ भने “…जन्म वा वर्गका कारण कसैमा पनि भिन्नता रहने छैन । ……एउटा मान्छेले अर्काे मान्छे माथि, एउटा वर्गले अर्काे वर्गमाथि शाेषण गर्नसक्ने छैन । सबैका लागि शिक्षा र स्वास्थ्य काे उचित प्रबन्ध हुनेछ ।बेरोजगारी रहने छैन । राष्ट्रिय सम्पत्तिकाे उत्पादन केही व्यक्तिहरूकाे व्यक्तिगत फाईदाका लागि नभई सबैकाे भलाईका लागि हुनेछ । जनताकाे जीवनस्तर र तिनकाे संस्कृति उत्थानका लागि उचित व्यवस्था हुनेछ भन्ने मुल मान्यता नै वीरगन्ज महाधिवेशनकाे समाजवादी सन्देश हाे ।

यद्यपि समाजवादी जीवन पद्धतिमा नेपाली काङ्ग्रेसकाे आफ्नै दलका झिना झम्टीले छेद-विच्छेद भएकाे तीताे वर्तमानमा नेपाली समाज यतिबेला छ । समाजवाद वर्ग र जातिय विभेद विरूद्धकाे एउटै कार्यक्रम हाे । जसलाई बीपी काेईरालाबाट आफ्नाे मन्त्रिपरिषद् तथा पार्टीको केन्द्रीय समितिमा गरिएका मनाेनयनहरूबाट सिद्ध भइसकेका छन् । तर नेतृत्व जब “शस्त्र”वादी बन्छ तब “शास्त्र”काे विधि-विधानमा पूर्णतया पट्टी बाध्ने रहेछ ।
युद्धले बुद्धलाई नचिन्नाले अनेक अनाहकमा सहादत हुने रहेछ । यसैकाे वरिपरि आज पनि ताते सर्दैछ समाजवादी याेजना । आफ्नै मातृत्वकाे काखबाट घाँटी निमाेठेकाे घाइते जस्तो तड्पिरहेकाे छ बीपीकाे समाजवादकाे याेजना !

बीपीकाे तस्वीरमाथि : माल्यार्पण हाेइन – विमर्श गराैं

सामान्यतया, पश्चिमा देशहरूमा नदेखिने र पुर्वी मुलुकहरूमा देखिने एउटा दृश्य हाे “तस्वीरमा माल्यार्पण”। हुन सक्छ यसमा धार्मिक प्रभाव पनि परेकाे हाेला । यसले हरेकजसाे कार्यक्रममा अाैपचारिक मान्यता पाएकाे हुन्छ । श्रद्धा र स्मरणका दृष्टिले याे राम्रै भएपनि वैचारिक दृष्टिकोण दिने राष्ट्रवादी नेतृत्वको तस्वीरमा माल्यार्पण मात्रले टार्नु ठूलाे दुर्भाग्यपूर्ण हाे । नेपालका सन्दर्भमा बीपी मात्र हाेइन अरू दर्जनाैं राजनेता, सामाजिक अभियान्ता तथा राष्ट्र निर्माणमा विभिन्न ढंगले याेगदान दिने महानुभावहरू माथिकाे नियति यस्तै छ ।

बीपीका कालजयी सिद्धान्त, विचार र चिनन्तनहरूकाे याेजना निर्माण गरी नेपाली भूमि सुहाउँदो विकासको माेडल तयार हुने हाे भने नेपालकाे याे अवस्था हुने थिएन । उहाँका विचारमा विमर्श, तर्क-वितर्क भन्दा कर्मकाण्डी प्रवृत्ति देखाउनाले आज नेपाली काङ्ग्रेस जनताका माझमा पातलाे हुनथालेकाे छ ।

बीपीको आदर्श बाेक्नेहरू आँफू मन्त्री हुँदा जनताकाे भन्दा कार्यकर्ताकाे; कार्यकर्ताकाे भन्दा नातागाेता र आफन्तकाे; त्याे भन्दा ज्यादा विचाैलिया, व्यापारी र तस्करहरूकाे काम गरिरहेका छन् । आफ्नै श्रीमती वा नजिकैका आफन्तलाई कमिसन उठाउने प्रतिनिधि राखेका छन् ।
समाजवादी याेजनामा अगाडि बड्ने सङ्कल्प गरेका नेताहरू विलासी जीवन विताउन र आफ्ना सन्तानलाई विदेशी महङ्गा विश्वविद्यालयमा अध्यापन गराईरहेका छन् । तर, कुनै अाैपचारिक समाराेहमा तिनै नेताहरू बीपीकाे तस्वीरमा माल्यार्पण गर्न छुटाउँदैन ।

आफ्नाे बैठक वा ग्यालरीमा बीपीको ठुलाे तस्वीर राख्नु पर्ने । चुनावी घाेषणा-पत्र, पाेष्टर, व्यानर वा कुनै प्रचार सामग्रीमा बीपी काेईरालाका तस्वीर हुनैपर्ने, नेपाली कांग्रेसको विधानमा बीपीको नाम उल्लेख गर्नैपर्ने तर बीपीले दिनुभएकाे राष्ट्रियता, प्रजातन्त्र र समाजवादकाे मार्गदर्शनलाई कार्यक्रमका रूपमा किन लिनु नहुने ? याे नै आजकाे अनुत्तरित प्रश्न हाे ।

जबसम्म बीपीकाे सच्चा अनुयायी नेपाली कांग्रेस बन्न सक्दैन तबसम्म हरेक निर्वाचन र जनअाधारमा कांग्रेस कमजाेर मात्र हुने छैन; समूल रूपमा विघटन हुने निश्चितप्राय: छ । आज आफूलाई साम्यवाद नजिकका कम्युनिष्ट ठान्नेहरू र समाजवादी भन्ने नेपाली कांग्रेसकाे एउटै आदर्श बनेकाे नेपालकाे संविधान २०७२ ले आफ्नाे प्रस्तावनामा लेखेकाे “समाजवाद प्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने” सन्दर्भमा एकमत भएपछि जनअपेक्षित समाजवादी कार्यक्रम प्रति जनतामा प्रवाेधीकरण गर्ने क्षमता कांग्रेसले कसरी राख्छ भन्ने अन्यौल आजसम्म जीवित छ ।

हरेक जसाे अधिवेशन विचार भन्दा व्यक्ति केन्द्रित गर्ने नेपाली कांग्रेसले आँफूलाई आँफू संसद र सरकार जनउत्तरदायी र जनअपेक्षित हुन सक्दैन भन्ने देखाउन समेत बीपी विचारलाई आत्मसात गर्दै ठाेस नीति र कार्यक्रमका साथ अगाडि बड्नु मात्र बीपी जयन्तीमा बीपी काेइराला प्रति सच्चा स्मरण हुनेछ । (लेखक जमरकटेल : सामाजिक लाेकतन्त्र अध्ययन केन्द्र, साेलुखुम्बुका सचिव हुन् ।)