× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

कांग्रेसको नवजीवन यसरी

Simrik Online

११ मंसिर २०७७, शुक्रबार

✍️ रामचन्द्र पौडेल 

मुलुकलाई राजनीतिक दिशा प्रदान गर्ने क्रममा कांग्रेसको दिशा भने अन्योलपूर्ण र अस्थिर भयो।

नवौं महाधिवेशनदेखि तेह्रौं महाधिवेशनसम्म आइपुग्दा कांग्रेस पार्टीभित्र कांग्रेस नै अल्पमतमा पुग्ला भन्ने डर पलाउँदै छ।

म नेपाली कांग्रेसको राजनीतिक आन्दोलनमा लागेको झन्डै छ दशक भयो। यहाँसम्म आउँदा कांग्रेसको विगत, वर्तमान र भविष्यबारे मेरा आफ्ना दृष्टिकोणहरू निर्माण भएका छन्। यी दृष्टिकोणहरू अनुभवका आधारमा छन्, संघर्षबाट निर्माण भएका छन्। कांग्रेस सत्तामा हुँदा वा प्रतिपक्षमा, देशमा पार्टीहरू प्रतिबन्धित हुँदा वा खुला रहँदा- सबै राजनीतिक प्रक्रियामा म लोकतान्त्रिक योद्धा भएर अग्रणी मोर्चामा छु।

लोकतान्त्रिक आन्दोलनका क्रममा होस् वा माओवादी आन्दोलनलाई शान्तिपूर्ण निकास दिने सन्दर्भमा, मैले कांग्रेस पार्टीको सिपाहीको हैसियतले पाएको जिम्मेवारी पूरा गरेको छु। यसै क्रममा देशमा भएका निर्वाचनमा पार्टीको सफलता र असफलताको साक्षी म छु। यिनै अनुभव, संघर्ष र संलग्नताका आधारमा भविष्यको कांग्रेसप्रति मेरो एउटा दृष्टिकोण निर्माण भएको छ। एक्काइसौं शताब्दीमा कांग्रेस कस्तो हुनुपर्छ? कांग्रेसको आजको समस्या के हो? र, कांग्रेसले आफ्नो पुरानो गौरवशाली इतिहासको पुनर्निर्माण कसरी गर्न सक्छ?

मेरो मान्यता छ, कांग्रेसलाई पुरानो अवस्थामा पुर्‍याउन पार्टीको चौधौं महाधिवेशन एउटा अवसर भएर हाम्रा अगाडि आएको छ। कांग्रेसको चौधौं महाधिवेशन देशको यस्तो राजनीतिक परिवेशमा हुन गइरहेको छ, जतिखेर देशमा कम्युनिस्ट सरकार छ। केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय निकायमा पनि कम्युनिस्टहरूको बाहुल्य छ। कम्युनिस्टहरूको बाहुल्यबाट लोकतन्त्रलाई बचाउँदै कांग्रेसलाई पुनः पुरानो गौरवशाली इतिहाससँग जोड्ने सूत्रबद्ध सुझावहरू म तल राख्न चाहन्छु।

पार्टीमा सम्पूर्ण एकता :

नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढ्दा यसका विरोधीहरू सधैं पराजित भएका छन्। तर जबजब पार्टी एकतामा विभाजन, विघटन र अन्तर्घातले प्रश्रय पायो, कांग्रेस हार्‍यो। पार्टीमा अन्तर्घात भयो भनेर मात्र हुँदैन, अन्तर्घाती निर्माण हुने प्रवृत्ति, संस्कार र संस्कृतिको अन्त नभई कांग्रेसको पुनर्जीवन सम्भव छैन।

कांग्रेस पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध पार्न चुनौती नेतृत्वबाटै भयो। नेतृत्व आफ्ना कमजोरीले असुरक्षित भएको मानसिकतामा पुग्यो। गुट र गिरोह निर्माण गरेर नेताले आफ्नो सुरक्षाकवच तयार गरे। गुट, विभाजन र गिरोहलाई प्रश्रय नदिने नेता र कार्यकर्ता पार्टीमा लाखापाखा लागे। यहीँबाट पार्टीमा कार्यकर्तालाई न्यायपूर्ण सम्बोधन भएन भन्ने गहिरो चिन्ता विकसित भएको छ।

कांग्रेस कार्यकर्ता पार्टीका ऊर्जा हुन्, निराशा र खिन्नता प्रकट गर्ने पार्टी कार्यकर्ताले पार्टी मिसनमाथि न्याय गर्न सक्तैनन्। त्यस्तै, नेतृत्व जतिसुकै ऊर्जावान् भए पनि कार्यकर्ता ऊर्जावान् भएनन् भने पार्टी र जनताबीचको सम्बन्ध चुँडिन्छ। एकातिर पार्टी नेतृत्वले नैतिक मान्यताहरू स्थापित गर्न नसकेर जनताको नजरमा पार्टी स्खलित भएको अवस्था छ, अर्कातिर कांग्रेस पार्टीको मिसनका निम्ति पनि पार्टी नेतृत्वले कार्यकर्ता र जनताबीच संवाद स्थापित गराउन नसक्ने अवस्था देखा परेको छ। कांग्रेसको चौधौं महाधिवेशनले अवसर दिएको छ, नैतिकतावान् पार्टी कार्यकर्ता र जनताबीच संवाद स्थापित गर्न सक्ने नेता चयन गर्ने।

पार्टी कार्यकर्तालाई न्याय हुन्छ, पारदर्शी रूपमा कार्यकर्ताको मूल्यांकन गरिन्छ भनी विगतमा पनि नेताहरू अगाडि आए। तर पार्टीभित्र आफन्त, पैसाको चलखेल र भ्रष्ट चरित्रलाई प्रोत्साहन दिने काम पनि भएको गुनासा आए। पार्टीले अवसर दिँदा एक थरीलाई सधैं झोले कार्यकर्ता बनाउने र अर्का थरीलाई सधैं राज्यको सुविधाको स्थानमा पुर्‍याउनाले कार्यकर्तामा ऊर्जा नै मलिन भयो।

नवौं महाधिवेशनदेखि तेह्रौं महाधिवेशनसम्म आइपुग्दा कांग्रेस पार्टीभित्र कांग्रेस नै अल्पमतमा पुग्ला भन्ने डर पलाउँदै छ। त्यसैले म तपाईंहरूसमक्ष प्रण गर्दछु, पार्टीमा न्यायपूर्ण र निष्पक्षतापूर्वक कार्यकर्ताको मूल्यांकनमा मेरो बाँकी जीवन समर्पण हुनेछ। मैले यसो भनिरहँदा पार्टीको आगामी महाधिवेशनमा मेरो उम्मेदवारी र जित-हारसँग मेरो यो अभियानको कुनै सरोकार हुनेछैन।

पार्टीमा नवजीवन :

नेपाली कांग्रेसले आफ्नो सात दशक लामो राजनीतिक यात्रामा थुप्रै राजनीतिक आन्दोलनहरूको नेतृत्व गर्‍यो। यो आरोह-अवरोहमा कहिले कांग्रेस एक्लै थियो भने कहिले अन्य राजनीतिक पार्टीहरूसँग मिलेर मुलुकलाई नयाँ राजनीतिक दिशा दिने काम भयो। मैले पनि कहिलेकाहीँ त मेरो पुस्तामा एक्लोजस्तो अनुभव गर्नुपर्‍यो। मुलुकलाई राजनीतिक दिशा प्रदान गर्ने क्रममा कांग्रेसको दिशा भने अन्योलपूर्ण र अस्थिर भयो। कुनैपनि पार्टी नवजीवनका लागि त्यो पार्टीको वैचारिक धरातल के हो भन्ने प्रश्न उठ्छ। कांग्रेस पार्टीको नवजीवनका लागि यतिखेर उठेका केही मूलभूत प्रश्न छन्, जसको छिनोफानो नगरी कांग्रेस एकताबद्ध हुन सम्भव छैन, अनि त्यो नभई यसले नवजीवन पनि पाउँदैन।

नवजीवनको पहिलो सर्त हो, वर्तमान संविधानलाई कांग्रेसले हेर्ने दृष्टिकोण। वर्तमान संविधान कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको जनआन्दोलनको कारण सम्भव भएको हो। दोस्रो, यो संविधान कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएको समयमा जारी भयो। अर्थात्, आन्दोलन र त्यसको संवैधानिक वैधानिकता दुवै कांग्रेसको नेतृत्वमा भएकाले सम्पूर्ण कांग्रेसजनलाई यो प्राप्तिमा गौरव हुनुपर्ने हो।

अहिले कांग्रेस कम्युनिस्टको पछाडि लाग्यो भन्ने आरोप पार्टीभित्र भुसको आगोजस्तो छ। यो आगो निभाउन भावी दिनमा कांग्रेसको कम्युनिस्टसँगको सम्बन्ध कहाँसम्म र कस्तो हुनेछ भनी लक्ष्मणरेखा कोर्नुपर्ने र स्पष्ट गर्नुपर्ने समय आएको छ।

मेरो दृष्टिमा कांग्रेसमा सैद्धान्तिक विचलन आउनुको कारण कतिपय साथीहरूमा रहेको सैद्धान्तिक स्पष्टताको अभाव पनि हो। माथिका विषयहरू जस्तो संघीयता, समावेशिता, लोकतान्त्रिक समाजवाद र गणतन्त्रको विषयमा सैद्धान्तिक निष्ठा प्रदर्शन गर्ने र वर्तमान संविधानलाई अंगीकार गर्ने हो भने कांग्रेसको चौधौं महाधिवेशनले अपार अवसर प्रदान गरेको छ। पार्टीका राजनीतिक सिद्धान्तहरूलाई सूत्रबद्ध गरेपछि कस्तो आर्थिक मोडल र कांग्रेसको समृद्धिको लक्ष्य कहाँ र कसलाई भन्ने प्रश्न उठ्छ। बीपीलाई अनुसरण गर्दै मैले भन्नुपर्दा, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो।’ कांग्रेस गाउँको विकास गर्ने पार्टी हो र। यही विकासको मूलमन्त्र कांग्रेसको रहनेछ। र, यसमा राज्य र निजी क्षेत्रको भूमिकालाई स्थानीय निकायहरूसँग समन्वय गरी समृद्धिको यात्रा अगाडि बढाइनेछ।

‘कांग्रेस आवाजविहीनको आवाज हो’ र ‘कांग्रेस राज्यमा पहुँच नभएकाहरूको आशा र भरोसाको केन्द्र हो।’ यही नारा कांग्रेसको सपना हो। यही मिसन कांग्रेसको नेपाल नवनिर्माणको मिसन हो।

राज्य र नागरिक :

राज्यको चरित्र लोकतान्त्रिक मात्र भएर पुग्दैन। कांग्रेसका सबै आन्दोलनहरू लोकतन्त्रलाई सुरक्षित राख्न र निर्वाचित सरकार निर्माणमा केन्द्रित भए। आगामी दिनमा कस्तो लोकतन्त्र भन्ने प्रश्न विश्वसामु छ। कांग्रेसको लोकतन्त्रको परिभाषामा कानुनी शासन र पारदर्शी सरकार छ। देशको अनेकतालाई एकतामा जोड्ने माध्यम समावेशी लोकतन्त्र हो भने समृद्धिको यात्रा पनि समावेशी विकासबाट सम्भव छ। कांग्रेसको चौधौं महाधिवेशनबाट नयाँ कांग्रेसको उद्घोष हुनेछ, जसमा देशभित्रै युवाहरूको पाखुरालाई देश विकासको पाखुरा बनाइनेछ। ‘युवाको पाखुरा देश निर्माणको सबल खम्बा’ भन्ने नारा कांग्रेसको चौधौं महाधिवेशनबाट अभियानका रूपमा अगाडि बढ्नेछ।

यसबाहेक हाम्रा मान्यता र कार्यक्रमहरू यस प्रकार हुनेछन् :-

समृद्धिको आधार : पहिले सबै बाँचौं, अनि समृद्धिका लागि प्रतिस्पर्धा गरौं। कृषि क्रान्ति, पर्यटनको विस्तार, ऊर्जाशक्तिको विकास र साना तथा मझौला उद्योगको सञ्जाल समृद्धिका मूल आधार हुन्।
हाम्रो बसोबास : गाउँमै बसौं-बसौं बनाऔं। गाउँमै रोजगारी र आम्दानी, गाउँ-गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्‍याऔं। स्वच्छ पर्यावरण होस्, जनतालाई सुरक्षित आवासका लागि बस्ती सुधार कार्यक्रम अगाडि सारौं।
व्यवस्थाको प्रश्न : सत्तरी वर्षको संघर्षका कारण बहुलवादमा आधारित संसदीय समावेशी प्रणाली, लोकतन्त्रका मूल्य-मान्यतामा आधारित समाजवाद भनेर व्यवस्थाको टुंगो लागिसकेको छ। यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ। बारम्बारको नयाँ-नयाँ प्रयोग देशले धान्न सक्तैन।
विश्व व्यवस्था : युरोप-अमेरिका नेतृत्वको पश्चिमी र रुस-चीन नेतृत्वको पूर्वीय गरी दुई ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल कतै संलग्न नहुने असंलग्न नीतिमा चल्नुपर्छ।-कान्तिपुर।