काठमाडौं । एमालेका असन्तुष्ट पक्ष खनाल नेपाल समूहले अर्को पार्टी गठन गर्नुपर्ने हुनसक्ने औँल्याएको छ । बिहीबार र शुक्रबारको केन्द्रीय बैठकले पारित गरेका प्रस्ताव सार्वजनिक गर्दै उनीहरूले वैकल्पिक आन्दोलनको आवश्यकता बोध गरेका हुन् ।
“केन्द्रदेखि स्थानीय तहसम्म कथित स्पष्टीकरण, निलम्बन र निष्काशन लगायतका सबै कारबाही तत्काल खारेज गरिनुपर्छ । अन्यथा असंवैधानिक किसिमले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेकोस्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षडयन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने स्पष्ट छ । यस्तो स्थितिमा हामीले नेपालको संविधान, पार्टीको विधान र कम्युनिष्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ,” प्रस्तावमा भनिएको छ ।
खनाल-नेपाल समूहले पार्टीको एकता तथा सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको दोहोर्याएको छ । फागुन २८ पछि तीन महिना बितेको तर, पार्टी अध्यक्ष केपी ओली सच्चिने भन्दा पनि नेपालको संविधान र पार्टीको विधान विपरीत विभिन्न गतिविधि गर्न थालेकाले एकताको सम्भावना क्षीण भएको उनीहरूको निष्कर्ष छ ।
“पार्टीमा एकता कायम गर्ने दिशामा उन्मुख हुनुको साटो अन्तरविरोध र विभाजन बढाउने कामकुरा गरिएका छन्, यस्तो अवस्थामा हामीले अघि सारेका कुराहरू तत्काल निश्चित समयावधिमा विश्वनीय रुपमा कार्यान्वयन हुनेगरी सहमति सार्वजनिक भएमात्र अध्यक्ष केपी ओली पार्टी एकताको पक्षमा रहनुभएको ठहरिनेछ,” १० बुँदे प्रस्तावमा भनिएको छ ।