× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

संघीयता अवान्छित गर्भको बच्चा हो : पूर्वमुख्यमन्त्री गुरुङ

Simrik Online

३ असार २०७८, शुक्रबार

प्रदेश सरकारलाई काठमाडौंले ‘डमरु’ बनायो’

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयतालाई नेताहरुले बेसाहारा बनाएको आरोप लगाएका छन्। शुक्रबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै गुरुङले यस्तो बताएका हुन्।

प्रदेश २ का मुख्यमन्त्रीले बारम्बार संघीयतालाई अवान्छित गर्भबाट जन्मिएको बच्चा भनेको सम्झना गर्दै गुरुङले नेताहरुले त्यस्तै-त्यस्तै बनाएको आरोप लगाएका हुन्।

प्रदेशसभामा संघीयताको प्रभावकारीता र काठमाडौंले संघीयताप्रति गरेको व्यवहारको विषयमा लामो व्याख्या गरेका नेता गुरुङले संघीयता हुर्काउने बाबुआमा नै नभएको बताए।

‘प्रदेश नम्बर २ को मुख्यमन्त्रीले भन्नुहुन्थ्यो, यो संघीयता अवान्छित गर्भाधानबाट जन्मिएको बच्चा हो, यो बेसाहारा भयो। यसलाई हुर्काउने बाबुआमा नै भएन भनेर बारम्बार भन्नुहुन्थ्यो’, गुरुङले भने, ‘हो संघीयतालाई त्यस्तै त्यस्तै बनाएको हो हाम्रा नेताहरुले।’

उनले काठमाडौंले प्रदेशलाई डमरु मात्र बनाएकोसमेत आरोप लगाए। उनले काठमाडौंमा बसेर संघीयताको विषयमा चर्को कुरा गर्ने तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरे।

संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामै समस्या रहेको भन्दै उनले संघीयता कार्यान्वयनमा गण्डकी प्रदेशले मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले शासकीय क्षमता र सिस्टमविरुद्ध लागेमा त्यसको डटेर प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

संघीयता बलियो बनाउन सरकार डटेर लागेमा एमालेले सरकारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत गुरुङले जनाएका छन्। ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ’, गुरुङले भने।