× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइय‍‍ो

Simrik Online

७ असार २०८१, शुक्रबार

काठमाडौं । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस वर्ष ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस नेपालमा पनि मनाइएको हो ।
विश्व योग दिवस २०२४ को अवसरमा भक्तपुरमा आयोजना गरिएको योग कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका थिए । उनले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउने बताए । ‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश भएको बताए । योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै उनले नेपालले परिकल्पना गरेको योगमाया आयुर्वेद विश्वविद्यालयले भविष्यमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा स्थापति हुने विश्वास व्यक्त गरे ।
दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रस्तुत गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।

सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ ।
योगबारे जानकारी दिँदै योग साधक एवं वागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष केदारनाथ बस्ताकोटीले मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य भएको बताए ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो।
योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ।
यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो। यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ। साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ।