नारायण घिमिरे
वेदहरू त्यसमा पनि विशेष गरी अथर्ववेदमा औषधीय खानाहरू जडीबुटीहरू र प्रकृतिका तत्वहरूको चिकित्सा प्रयोगसँग सम्बन्धित श्लोकहरू भेटिन्छ। जादुका सूत्रहरूको वेद भनी चुनिने अथर्ववेदले स्वास्थ्य, उपचार र विभिन्न बिरुवा र खानाको औषधीय गुणहरू बारे व्याख्या गर्दछ। त्यही व्याख्या आयुर्वेदको लागि प्रारम्भिक ज्ञानको स्रोत बनेको हो। त्यसैको कारण आयुर्वेदमा प्रकृति उत्पादनहरू मार्फत शारीरिक र आध्यात्मिक कल्याणमा सकारात्मक प्रभाव दिने खाद्य तथा ओखती निर्माण सम्भव बनेको छ।
विज्ञानका अनुसार शरीरको निर्माण र सञ्चालनका लागि जरुरी हुने दैनिक ऊर्जामा हावा (अक्सिजन) वाट ८३%, पानी वाट ११% र खाना वाट ६% शरीरले प्राप्त गर्ने गर्दछ। यसको समग्र निचोड वेदले दिने श्वास साधना विज्ञानले स्विकार्ने गर्दछ। आज हाम्रो समाजमा पोषण विज्ञ वा डाक्टरका नाममा खाना र ओखती बारे सल्लाह दिने विज्ञ भनिएका हरू विज्ञानले नै वाहियात भनी प्रमाणित गरेको मात्र ६% खाना र ओखती लाई १०० % ठानेर सल्लाह दिने सल्लाहकार हल्लाहकारमा परिवर्तित बनेको अवस्था छ।
आज हाम्रा सञ्चार माध्यम मार्फत सल्लाहकार विज्ञको नाम ट्याग भिराइएर आएका हल्लाहकारहरुको अल्प ज्ञान रुपी भ्रमको पुरिया लाई आधुनिक विज्ञान वाट समेत पुष्टि हुने गरी हाम्रो नव रात्रि जस्ता दसैँ चाडले दिने गरेको सन्देश समाजमा चिर्न सकिने देखिएकाले हामीलाई गहिरो रूपमा हिलिङ्ग खाद्यको विषयमा नवरात्रीका नौ देवीहरुले हामीलाई दिएको सन्देश हामीले बुझ्न सक्दा हाम्रो वरत्र अर्थात् आफ्नो आज र परत्र अर्थात् आफ्ना बच्चा बच्ची दुवैको कल्याण हुने छ भन्ने लागेर यो लेख लेखिएको हो। ।
अथर्ववेद औषधीय जडीबुटीहरू, चिकित्सात्मक बिरुवाहरू र उपचारात्मक खानाहरू जुन स्वास्थ्य र कल्याणको लागि समर्पित हुन्छन् ती मन्त्रहरूले भरिएको छन्। त्यसका औषधि सूक्त विभिन्न बिरुवा र खानाहरूको उपचारात्मक शक्तिको महिमाले भरिएका त छदै छन् त्यो बाहेक कसरी बिरुवाहरूमा प्राकृतिक रूपमा दैवी अस्तित्व पुग्दछ र त्यो पोषण र उपचारात्मक गुण सहित सम्पूर्ण जीवहरूको सेल सेलमा पुर्याउन सफल बनेको छ भन्ने प्रस्टता समेत बारे बोल्दछ।
जस्तै अथर्ववेदमा जौ, धान, आँप, अदुवा, बेसार, तिल र अन्य धेरै खाद्यपदार्थहरू शारीरिक स्वास्थ्य र आध्यात्मिक पोषणको स्रोत भनी उल्लेख छ। त्यस्तै शरीर र मस्तिष्कको सन्तुलन पुनः स्थापना गर्न विशिष्ट तरिकामा औषधीय जडीबुटीहरू (औषधि), जराहरू, र फलफूलहरूको प्रयोग कसरी किन गर्ने भन्ने चर्चा समेत छ। यद्यपि ऋग्वेद मुख्यतः सृष्टिको स्तुति र देवताहरूको अनुरोध वा आव्हानमा केन्द्रित छ, यसमा समेत सोम, घिउ, दूध र अन्न पोषण र औषधीय खाद्यपदार्थहरू शरीर तथा आत्माको सुदृढीकरणको लागि शुद्ध हुने कुरा उल्लेख छ। यसमा विभिन्न जडीबुटीहरू जस्तै सोमलता (स्वास्थ्यको अमृत मानिने) आदिको उल्लेख छ जसले शरीरको जीवन शक्ति र शारीरिक ऊर्जाको ३३ किसिमका श्रोतहरू (देवता) बारे प्रस्ट गर्दछ।
यजुर्वेदमा यज्ञ (बलिदान संस्कार) मार्फत आगो, हावा, अन्न, पानी, जडीबुटी र वैकल्पिक खानाहरू कसरी प्रशोधन गर्ने, कसरी मिलाएर बनाउने आदि जस्ता खानालाई स्वास्थ्य, समृद्धि, र आध्यात्मिक लाभ हुने रूपमा रूपान्तरण गरी सेवन गर्ने तरिका (यज्ञ विधि) को उल्लेख भेटिन्छ । घिउ, जौ र कालो तिल जस्ता खाद्य पदार्थहरू लाई शरीर र ब्रह्माण्डीय ऊर्जाहरू सन्तुलनमा राख्नका र विभिन्न चीजहरू शरीरमा रोग प्रतिरोधी क्षमता र एन्टीएलर्जी शक्ति आदि निर्माणमा उपयोग गर्ने विधि समावेश छ । सामवेदले दिने सङ्गीतमय मन्त्रहरू मह र दूधजस्ता खाद्यपदार्थहरू मात्र सीमित नरहेर शारीरिक र मानसिक शान्तिको लागि खाद्यपदार्थहरूको शुद्धता, स्वास्थ्य र मन शान्ति तथा आत्मबल निर्माणको वारेको ज्ञान दिन योगदान दिएको छ । वेदका ज्ञानलाई समाजको निकै तल्लो तह सम्म पुर्याउन ज्ञानको सामाजिकीकरण र सोसल इञ्जिनियरिङ्ग मार्फत घर घर पुग्ने विधि विकास गरेको छ ।
यद्यपि वेदहरूमा नवदुर्गा वा नवरात्रि जस्ता विषय उल्लेख छैनन् तर त्यसलाई वेदका अध्येता हरुले वेदहरूमा वर्णन गरिएका औषधीय खाद्य पदार्थहरू नव देवीहरू सँग सम्बन्धित गुणहरूको रूपमा सोसल इञ्जिनियरिङ्ग गरी दसैँ र तिहार जस्ता चाडहरूका साथै ऋतु अनुरूप हुने सामाजिक संस्कृति मार्फत घर घरमा पुर्याउने काम गरेको भेटिन्छ। वेदहरूको खानामा आधारित दृष्टिकोण समग्रतामा आधारित छ। जसले त्रिदोष (वात, पित्त, कफ) लाई सन्तुलनमा राख्छ। शारीरिक तथा मानसिक स्वास्थ्य सन्तुलन लाई सहयोग गर्दछ। त्यसैले त्यो गुण लाई हाम्रो परम्पराले नव देवीहरू सँग सम्बन्धित गुणहरू संग मिलाएर ऋतु अनुसार उपलब्ध हुने हिलिङ्ग खाना कसरी खाने भन्ने प्रष्टता समाजमा पुर्याएको छ। जुन यस प्रकार छ।
१. शैलपुत्री – स्थिरता र जरा चक्रको देवी हुन्। उनी जरायुक्त आलु, गाजर, र चुकन्दर जस्ता जराहरूको सेवनमा जोड दिने गर्दछिन्। जरायुक्त तरकारीहरूको विकासमा प्राय चन्द्रको किरणको अधिक भूमिका हुने हुँदा त्यसमा मनोवैज्ञानिक वृद्धिका अधिक पोषण र स्थिरता प्रदान गर्ने सार तत्त्व हुने गर्दछ। अथर्ववेदको स्थिरता र दिगो शक्तिको चन्द्र नाडी सक्रिय गर्ने ऊर्जाको लागि जरा युक्त तरकारीहरू खानको अभिन्न अङ्ग बनाउनु भन्ने सन्देश शैलपुत्रीले दिने गर्दछिन्।
२. ब्रह्मचारिणी – भक्ति र शक्ति दिने देवी हुन्। जसमा सम्पूर्ण अन्न हरू पर्दछ। क्विनोआ, जौँ, र कोदो जस्ता सम्पूर्ण अनाजहरू विकासको क्रममा अधिक सूर्यको प्रकाशको उपयोग भएको हुन्छ। सूर्य नाडी ऊर्जा सक्रिय गरेर शारीरिक सहन शक्ति बढाउने ब्रह्मचारिणीको शक्ति भक्ति र आन्तरिक बल यसले दिन्छ। ब्रह्मचारिणी अवस्थामा मानिस यौन ऊर्जा खर्च नगर्ने हुँदा प्राप्त ऊर्जा सबै शरीर र मस्तिष्कको जग विकासमा खर्च गर्ने हुँदा यो समय अधिक शरीर र मस्तिष्कको जग मजबुत बनाउने ऋग्वेद र अथर्ववेदमा उल्लेखित प्राय सबै अन्नहरू मार्फत शरीरको दीर्घकालीन ऊर्जा र जीवन शक्ति निर्माण गर्ने सन्देश ब्रह्मचारिणी मार्फत समाजमा दिने गरी दशैको चाडको सोसल इञ्जिनियरिङ्ग भएको छ।
३. चन्द्रघण्टा – शान्ति र साहसकी देवी हुन्। वेदहरूमा व्यापक रूपमा चर्चा गरिएको दुग्ध पदार्थहरू जस्तै दूध र घिउ जसको मानसिक शान्ति र पोषण पक्ष हुन्छ त्यसको उपभोगमा चन्द्रघण्टाको सन्देशको सोसल इञ्जिनियरिङ्ग भएको छ। भेगन जस्ता जीवन पद्धतिको लागि चिन्ता घटाउने तथा र शान्ति ल्याउने दूध र घिउ जस्ता खाद्य विकल्पको विकल्पमा प्लान्ट-बेस्ड खाद्यपदार्थहरू जस्तै नारिबेल र नट्सबाट बनेका दूध, जौको दूध मात्र नभएर तिल, तोरी, सूर्यमुखी आदिका तेलहरू जस्ता मानसिक शान्ति र शारीरिक सन्तुलन कायम राख्ने विकल्पको रूपमा प्रस्तुत भएको छ।अश्वगन्धा,ब्राह्मी, तुलसी आदिको समेत त्यहाँ कुरा हुने गर्दछ।
४. कुष्माण्डा – ऊर्जा र सृष्टिकी देवी हुन् जसले जीवन शक्ति निर्माण गर्दछिन्। त्यसको लागि सूर्य र चन्द्र दुवैको प्रकाशको भूमिका रहने सूर्य नाडी र चन्द्र नाडी दुवैको सन्तुलन गर्ने फर्सी, लौका, घिरौँलो, चिचिन्डो आदि जस्ता फलफूलहरूको उपयोगमा जोड दिने गर्दछिन् । अथर्ववेदमा रहेको फर्सी, लौका आदिले पोषण प्रदान गर्दै गर्दा पाचन शक्ति लाई सुधार्ने, शरीरलाई बलियो बनाउने फलफूल र तरकारीहरूको सेवन गरी जीवन शक्ति र स्वास्थ्यको सुरक्षा गर्ने सन्देश ऊर्जा र सृजनाकी देवी कुष्माण्डा मार्फत समाजमा दिने गरी दशैको चाडको सोसल इञ्जिनियरिङ्ग भएको छ ।
५. स्कन्दमाता – मातृत्व र करुणाकी देवी हुन्। आफ्ना सन्तानलाई पोषण दिन उनी आफू स्वयंले बदाम, ओखर, काजु, पिस्ता जस्ता नट्स र भटमास, तिल, मकै आदि जस्ता बीउहरू खान जरुरी रहेको सन्देश दिने गर्दछिन्। स्कन्दमाताको मातृत्व गुणसँग मेल खाने वेदका विभिन्न श्लोकहरूमा उल्लेख गेडागुडी र बदाम आदि र सुख्खा भुटेको वीजहरूमा रहने स्वस्थ बोसो, एन्टिअक्सिडेन्ट, पोषक, हिलिङ्ग र जीवन्त तत्त्व मार्फत आफ्नो र बच्चाको मस्तिष्क स्वस्थको लागि अनिवार्य रहेको सन्देश स्कन्दमाता मार्फत समाजमा दिने गरी दशैको चाडको सोसल इञ्जिनियरिङ्ग भएको छ।
६. कात्यायनी – बल, आत्म विश्वास र प्रतिरक्षा क्षमताकी देवी हुन्। अथर्ववेदले अर्थ्याएको बेसार, अदुवा, कागती, हर्बल चिया र जडीबुटीहरू जस्ता मसालाहरूको स्वास्थ्य वर्धक गुणहरूको उपयोग गर्न कात्यायनी योद्धा शक्तिको प्रयोग गर्न भनिएको छ। जसरी आफ्नै शरीरको पोषण तागतको उपयोग गरेर महिषासुर नामक असुरले त्यही शरीरमा मच्चाएको त्राहिमाम् वितण्डा प्रतिरक्षा क्षमताको जोहो गरी विकास गरिएको कात्यायनी देवी मार्फत नियन्त्रण सफल भयो त्यस्तै आफ्नो शरीरको नियन्त्रण आफै संग राख्न बल, आत्म विश्वास र प्रतिरक्षा क्षमता वृद्धि गर्ने खानपानमा ध्यान दिन अथर्ववेदले अर्थ्याएको तरिकाको सन्देश समाजमा दिने दशैको चाडको दुर्गा कात्यायनीको सोसल इञ्जिनियरिङ्ग भएको छ।
७. कालरात्रि – रक्षा र शुद्धीकरणकी देवी हुन्। त्यसको लागि खानामा विषाक्तता हटाउने र जोखिमको हद कम रहेको खानाहरू मात्र सेवन हुन सक्ने गरी कुनै पनि खाद्य र ओखतिय बस्तु आफ्नो खाना को अंश बन्न सक्ने कुरामा अधिकतम ध्यान पुर्याउनु जरुरी छ। अथर्ववेदमा उल्लेख गरिए अनुरूप शुद्धीकरण गर्ने जडीबुटीहरू कागती, अदुवा, भान्साका मरमसला, जडीबुटीहरू नै हुन् । तिनीहरूको शुद्धीकरण विधिहरूमा एकातर्फ अग्नि जस्ता ऊर्जाको त्यसको प्रशोधनमा भूमिका हुन्छ भने अर्को तर्फ आत्मबल विकासको लागि नकारात्मकता वाट मुक्ति नै हो। कालरात्रिको नकारात्मकताको विनाश र शुद्धीकरण शक्ति मार्फत खानपानमा जडीबुटीहरू कागती, अदुवा, भान्साका मरमसला, जडीबुटीहरू र तिनै मैत्री खाद्य र पेयको छनौट गर्ने सन्देशको समाजमा दिने दशैको चाडको नव दुर्गा कालरात्रिको सोसल इञ्जिनियरिङ्ग भएको छ।
८. महागौरी – शुद्धता र ज्ञानकी देवी हुन्। हल्का खाद्यपदार्थहरू जस्तै नरिवल, दूध, चामल, फलफूल, सलाद आदि शरीर शुद्धीकरण विधिहरूमा प्रयोग गरिने खाद्यपदार्थहरू हुन्। वेदहरूमा सात्त्विक (शुद्ध) मानिने सबै खाद्य तथा पेय वारेको ज्ञान समाजमा दिने दशैको चाडको नव दुर्गा महागौरीको सोसल इञ्जिनियरिङ्ग भएको छ। जसमा मनोवैज्ञानिक पक्ष निर्माण गर्ने अश्वगन्धा,ब्राह्मी, तुलसी आदि तथा सात्त्विक चार्टमा पर्ने सबै खाना हरू पर्दछन्।
९. सिद्धिदात्री – आध्यात्मिक जागरण र पूर्णताकी देवी हुन् जुन अधिक फलफूल र आध्यात्मिक जडीबुटीहरू केन्द्रित छ। अथर्ववेदमा आध्यात्मिक कल्याण र पूर्णता प्राप्त गर्नका लागि विशेष फलफूल र पवित्र जडीबुटीहरूको प्रयोगको चर्चा गरिएको छ। स्याउ, नास्पाती र दाडिम, पञ्चामृत, गेडा गुडी, नटस, मरमसला आदि जस्ता औषधीय खाद्य पदार्थ खानको अभिन्न अंश रहन जरुरत रहेको सन्देश दिन दशैको चाडको नव दुर्गा सिद्धि दात्रीको सोसल इञ्जिनियरिङ्ग भएको छ। सिद्धि दात्रीको आशीर्वाद र आध्यात्मिक उपलब्धि लाई स्वस्थ जीवन र जीवन पद्धतिको रूपमा प्रस्तुत गर्ने गरिएको छ।
अथर्ववेद स्वास्थ्य, जडीबुटीहरू, र तिनीहरूको प्रयोगसँग सम्बन्धित सबैभन्दा निकट वेद हो, जसले शारीरिक स्वास्थ्य, कल्याण, र आध्यात्मिक वृद्धिलाई मद्दत पुर्याउँछ। यो वेदले विभिन्न प्राकृतिक तत्वहरूको औषधीय र चिकित्सात्मक गुणहरूको गहिरो रूपमा अध्ययन गरेको छ, जुन नवरात्रिमा देवीहरूको गुणहरूसँग पनि मेल खान्छ। किनकि नवरात्रिमा प्रायः मानिसहरूले सात्त्विक भोजनको र जीवन शैलीको पालन गर्छन्। जसमा हल्का र सजिलै पच्न सक्ने खाद्यपदार्थहरू जस्तै फलफूल, दूध, केही अन्न र आइरन युक्त हरियो परियो समावेश हुन्छन्। यी आहार नियमहरू देवीलाई सम्मान गर्न मात्र होइन, शरीरलाई शुद्धीकरण र पुनर्जीवित गर्नको लागि पनि डिजाइन गरिएको हो। कतिपयले मासु आदि समेत खाने दशैको चलन छ। त्यसो गर्दा समेत त्यसलाई रोग मुक्ता गर्ने प्रशोधन र पकान उपयोग गर्ने र पाचन सहज गर्न मरमसला र अन्य मनोरञ्जन युक्त पिङ आदि खेल्ने आयुर्वेदले सुझाएको जीवन पद्धति संग मिसाएर सम्पन्न हुने गर्दछ।
नवरात्रिमा व्रत राख्नु आदि क्रिया शरीरलाई विषाक्त तत्त्वहरूबाट मुक्त पार्ने र शरीरलाई ताजा बनाउने अर्को विशिष्ट उपाय हो। नवरात्रिको आध्यात्मिक अभ्यास सँग आहारको तालमेलले मानसिक र आध्यात्मिक कल्याणको अनुभव बढाउने गर्दछ। विश्वास जगाउने गर्दछ जसले उच्च आत्मबलको निर्माण गर्दछ। नवरात्रिमा सेवन गरिने औषधीय गुणका खाद्य पदार्थहरूले देवीको गुणलाई ग्रहण गर्न मद्दत गर्दछ।
वेदको खानामा आधारित दृष्टिकोणले त्रिदोष (वात, पित्त, कफ) लाई सन्तुलनमा राख्न सहयोग गर्छ । हाम्रो परम्पराले यी गुणलाई नवदेवीहरूसँग जोडेर ऋतु अनुसार उपलब्ध हुने हिलिङ्ग खाद्यपदार्थहरू सेवन गर्न सन्देश दिन्छ । तसर्थ नव रात्रि पर्व खानपानको सवालमा समेत हरेक देवीको ऊर्जा अनुभव गर्न प्रेरित गर्ने र आफूलाई स्वस्थ र स्फूर्त राख्न सहयोग गर्ने र यथार्थमा शरीरको समग्र ब्याट्री नै रिचार्ज गर्ने सांस्कृतिक चाड हो । मानव कल्याणका वैज्ञानिक सन्देशहरूलाई पक्षलाई अत्यन्त चतुरता पूर्वक घर घरमा सजिलै पुग्ने गरी सोसल इञ्जिनियरिङ्ग गरिएको उत्कृष्ट विधा हो । (लेखक : अथर्ववेदाचार्य, खाद्य तथा ओैषधी वैज्ञानिक नारायण घिमिरे क्यानडियन वैदिक हेरिटेजका अध्यक्ष समेत हुनुहुन्छ ।)