× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

नेपालमा एन्टिबायोटिकले ‘काम नगर्ने अवस्था’ बन्दै, कडा खालका यस्ता औषधि बिक्रीमा कडाइ

Simrik Online

२९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । नेपालमा ‘एन्टिमाइक्रोबिअल्स’ अर्थात् प्रतिजैविक औषधिहरूको “अधिक र अनावश्यक” प्रयोग भइरहेको भन्दै त्यसमा कडाइ गर्न थालिएको अधिकारीहरूले बताएका छन्।उनीहरूका भनाइमा नेपालमा अन्धाधुन्ध रूपमा मानिस तथा पशुपन्छीमा समेत त्यस्ता औषधिको प्रयोग भइरहेकाले कडाइ गर्नुपरेको हो।
नेपालमा गरिएका केही अनुसन्धानले एन्टिमाइक्रोबिअल्सको “अति र अनावश्यक” प्रयोगका कारण नेपालमा पनि त्यस्ता औषधिहरू प्रभावकारी हुन छाडेको देखाएका छन्। विज्ञहरू त्यस्तो अवस्था देखा पर्नु निकै चिन्ताको विषय भएको बताउँछन्।एन्टिमाइक्रोबिअल्स औषधिको पशुपन्छीमा जथाभावी प्रयोग हुँदा मासु र दूधका माध्यमबाट मानिसमा समेत त्यसको मात्रा सर्ने र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने उनीहरूले चेतावनी दिएका छन्।
सरकारी निकायहरू के गर्दै छन् औषधि व्यवस्था विभागले यो महिना प्रतिजैविक औषधिसम्बन्धी फरकफरक दिनमा विभिन्न सूचनाहरू प्रकाशित गर्दै केही पुराना र केही नयाँ नियमबारे जानकारी दिएको छ।
विभागका अधिकारीहरू मानिस र पशुपन्छीमा समेत यस्ता औषधिको जथाभावी प्रयोग बढेकाले त्यस्ता सूचनाहरू निकालिएको बताउँछन्। कतिपय सूचनाहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव अध्यक्ष रहने औषधि सल्लाहकार समितिको बैठकको निर्णयानुसार निकालिएको विभागका सूचना अधिकारी प्रमोद केसीले बताए।
विभागले फागुन १९ गते जारी गरेको एउटा सूचनामा एन्टिमाइक्रोबिअल्सको ‘प्राइमरी’ र ‘सेकन्डरी’ प्याकिङको लेभलमा स्पष्ट र बुझिने खालको एवं विभागले तोकेबमोजिम रातो धर्का राख्न आयातकर्ता तथा उत्पादकहरूलाई निर्देशन दिइएको छ। त्यसमा भनिएको छ, “यस्ता प्रतिजैविक (एन्टिमाइक्रोबिअल्स) औषधिहरू चिकित्सकको सिफारिसको आधारमा मात्र बिक्री/वितरण गर्नुहुन, बिरामीले समेत चिकित्सकको पुर्जीको आधारमा यस्ता औषधि प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।”
“यदि कसैले कानुन बर्खिलाप चिकित्सकको सिफारिसबिना उक्त औषधिहरू बिक्री/वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचनामार्फत् जानकारी गराइन्छ।”
फागुन २२ गते जारी गरिएको अर्को सूचनामा यस्तो प्रकारका औषधिको खपतबारे विभागले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)लाई र पशु सेवा विभागले विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) लाई नियमित रूपमा जानकारी दिनुपर्ने स्मरण गराइएको छ। त्यसमा यस्तो प्रकारका औषधि उत्पादक तथा आयातकर्तालाई त्यसको विवरण ती सरकारी विभागहरूमा “तोकिएको ढाँचामा उपलब्ध गराउन” निर्देशन दिइएको छ।
“अन्तर्राष्ट्रिय रूपमा नै यस्ता औषधिको प्रयोग र खपतलाई निगरानी गर्ने प्रणाली रहेकाले त्यसका निम्ति हामीले यस्तो आग्रह गरेका हौँ,” केसीले भने।
मानिस तथा पशुपक्षीमा ब्याक्टेरियाविरुद्ध प्रयोग गरिने एन्टिबायोटिक, ढुसीविरुद्ध प्रयोग गरिने एन्टिफङ्गल, भाइरसविरुद्ध प्रयोग गरिने एन्टिभाइरल औषधि अनि एन्टिसेप्टिकहरूलाई समग्रमा एन्टिमाइक्रोबलिअल्स भनिन्छ। ती पदार्थले लक्षित कीटाणुहरूलाई मारिदिन्छन् वा तिनको वृद्धिविकास रोकिदिन्छन्।
तीमध्ये ब्याक्टेरियाविरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधिहरूको नेपालमा व्यापक दुरुपयोग भइरहेको गुनासो आउने गरेको छ।’रिजर्भ’ एन्टिबायोटिक अस्पतालको औषधि पसलबाट बेच्न पाइने‘अन्तिम तथा गम्भीर अवस्था’मा मात्र चिकित्सकको सिफारिस तथा निगरानीमा प्रयोग गर्नुपर्ने खालका ‘रिजर्भ’ एन्टिबायोटिक अस्पतालका फार्मेसीबाट मात्र बिक्री गर्न पाइने विभागले जनाएको छ।
गत माघ ३ गतेको औषधि सल्लाहकार समितिको बैठकको निर्णयअनुसार विभागले गत सोमवार निकालेको सूचनामा उक्त जानकारी दिइएको छ।त्यसमा भनिएको छ, “प्रतिजैविक औषधिको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधिहरूको खपत बढ्दै गइरहेको, पशुपन्छीमा प्रयोग हुने औषधिको प्रयोगसम्बन्धी प्रतिजैविक सर्भिलन्सको समेत अभाव रहेको, औषधि सिफारिसकर्ता, औषधि विक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधिको वर्गीकरणबारे पर्याप्त ज्ञान नभएकोले त्यस्ता औषधिको अनुचित प्रयोग हुन गई प्रतिजैविक प्रतिरोध बढ्न जाने सम्भावना रहेको छ। ”विभागले “खुद्रा फार्मेसीमार्फत् ‘रिजर्भ’ समूहको औषधिको बिक्री/वितरणले” त्यसको “अनुचित प्रयोग हुन सक्ने र त्यसबाट प्रतिजैविक प्रतिरोध बढ्न जाने” जनाउँदै त्यस्ता औषधिलाई अस्पतालको फार्मेसीबाट मात्र बिक्री गर्ने व्यवस्था गरिएको जनाएको छ।
उसले खुद्रा फार्मेसी अर्थात् अस्पतालबाहिर सञ्चालित औषधि पसलहरूबाट जथाभावी बिक्री हुँदा त्यस्ता औषधिहरू आवश्यक परेका बेलामा “उपचारका लागि उपलब्ध नहुने” सम्भावना पनि बढ्ने भएकाले त्यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेको छ। विभागले अस्पतालका फार्मेसीहरूले पनि प्रतिजैविक औषधिको खपतसम्बन्धी विवरण वार्षिक अभिलेखमा राख्नुपर्ने जनाएको छ।
त्यस्तै “राष्ट्रिय अत्यावश्यक औषधि सूचीमा सूचीकृत रिजर्भ समूहका प्रतिजैविक औषधिबाहेक अन्य प्रतिजैविक प्रतिरोध औषधिलाई दर्ता गर्दाका बखत विभागले एक्सेस, अवेर र रिजर्भ समूहमा वर्गीकरण गरेर दर्ता गर्ने” निर्णय भएको विभागको भनाइ छ।
विभागले “राष्ट्रिय अत्यावश्यक औषधि”को सूचीमा हाल ६ वटा एन्टिबायोटिकहरू जानकारी दिँदै त्यसको सूची पनि सार्वजनिक गरेको छ।
प्रतिजैविक औषधिको प्रयोग ‘बढ्दो’नेपालमा गरिएका पछिल्ला अध्ययनहरू र सरकारी प्रतिवेदनहरूले प्रतिजैविक औषधिको प्रयोग बढ्दो रहेको देखाएका छन्।
नेपाल सरकारको ‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना २०८०/८१-२०८४/८५’ मा पनि त्यसलाई दृष्टिगत गरी आवश्यक रणनीतिहरू तय गरिएको उल्लेख गरिएको छ। त्यसमा भनिएको छ, “नेपालमा सङ्क्रामक तथा सरुवा रोगहरूबाट हुने बिरामीदर र मृत्युदर अझै उच्च रहेको छ। बहुऔषधि प्रतिरोध उच्च भएका विश्वका ३० मुलुकहरूमध्ये नेपाल पनि एक हो।”
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सबैभन्दा बढी मृत्यु गराउने सङ्क्रामक रोगमा श्वासप्रश्वास प्रणालीको सङ्क्रमण, क्षयरोग र टाइफोइडजस्ता सङ्क्रमण छन्।
उक्त सरकारी कार्ययोजनामा भनिएको छ, “यसरी प्रतिजैविक प्रतिरोध बढ्दै जाँदा सङ्क्रमणहरूको उपचारमा कठिनाइ भइरहेको अवस्था छ।”
“पशुपन्छी र कृषि क्षेत्रमा उत्पादन बढाउन गरिने एन्टिबायोटिकको बढ्दो प्रयोग, मापदण्ड विपरीतका कृषि अभ्यासहरू, सङ्क्रमण रोकथाम र नियन्त्रणका अनुपयुक्त विधि तथा यससम्बन्धी सचेतनाको कमीले कृषि तथा पशुपन्छीका क्षेत्रमा प्रतिजैविक प्रतिरोधको व्यापकता बढिरहेको छ।”
अनावश्यक र अतिप्रयोगउक्त सरकारी कार्ययोजनामा नै नेपालमा जथाभावी यस्ता औषधिको प्रयोग हुने गरेको उल्लेख छ।
नेपालमा गरिएका विभिन्न अध्ययनहरूले पनि मानव र पशुपन्छीमा समेत यस्ता औषधिको “अति र अनावश्यक” प्रयोग हुने गरेको देखाएका छन्।
“नेपालमा स्वास्थ्यकर्मीहरूबाट गरिने प्रतिजैविक औषधिहरूको सिफारिस सम्बन्धमा गरिएका धेरै अध्ययनहरूले ब्याक्टेरियाको सङ्क्रमण पहिचान नै नगरी एकैसाथ एकभन्दा धेरै एन्टिबायोटिकहरू अनावश्यक रूपमा बिरामीहरूलाई सिफारिस गर्ने गरेको देखिएको छ,” त्यसमा भनिएको छ।
त्यस्तै बिरामीहरूले पनि चिकित्सकको सिफारिसबिनै औषधि किनेर खाने तथा खानुपर्ने पूरा अवधि र मात्रा पूरा नगर्ने गरेको पाइएको पनि सरकारी प्रतिवेदनहरूमै उल्लेख छ।स्वास्थ्य मन्त्रालयका प्रतिवेदन तथा अभिलेखमा उल्लेख भएअनुसार नेपालमा बर्सेनि करौडौँ भेटरनरी औषधि र पूरक दाना बिक्री हुने गरेकोमा त्यसमध्ये झन्डै १३ प्रतिशत एन्टिबायोटिकको हुने गरेको छ।
सरकारले तयार पारेको प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजनामा उल्लेख भए अनुसार पशुपन्छी क्षेत्रमा नेपालमा सबैभन्दा धेरै अक्सिटेट्रासाइक्लिन, टिमिकोसिन, सल्फाडिमिडिन, सल्फामिथोक्साजोल, सिप्रोफ्लोक्जासिनजस्ता औषधिहरू खपत हुने गर्छन्।
“सबैभन्दा अनुपयुक्त तरिकाले प्रयोग गर्न सिफारिस गरिने औषधिहरूमा एम्पिसिलिन, एमोक्सिसिलिन, सेफ्ट्रिएक्सोन र जेन्टामाइसिन पर्दछन्,” त्यसमा भनिएको छ। पशुपन्छीमा प्रयोग हुँदा मानव स्वास्थ्यमा कसरी असर पर्छपशुपन्छीमा प्रयोग भएको प्रतिजैविक औषधिको मात्रा पशुपन्छीजन्य उत्पादनका माध्यमबाट मानव शरीरसम्म पुग्ने विज्ञहरू बताउँछन्।
नेपालभित्रै गरिएका अध्ययनहरूले पनि त्यस्तो देखाएको उनीहरूको भनाइ छ। सरकारले तयार पारेको उक्त कार्ययोजनामा पनि त्यसबारे उल्लेख गरिएको छ।
“पशुपन्छीमा औषधिको अन्तिम मात्रा प्रयोग गरेपछि त्यसको असर रहने अवधि र त्यसले पशुपन्छी र मानिसको स्वास्थ्यमा पार्ने नकारात्मक असर तथा औषधिको दीर्घकालीन प्रयोगले पार्ने असरसम्बन्धी ज्ञान नहुनाले बजारमा आउने पशुपन्छीजन्य उत्पादनहरूमा स्वीकृत मात्राभन्दा बढी प्रतिजैविक अवशेष हुन्छ,” त्यसमा भनिएको छ।
“दुग्ध फार्महरूमा एन्टिबायोटिकको सुरक्षित प्रयोग गर्ने अभ्यास अझैसम्म हुने गरेको छैन जसले गर्दा दूधमा औषधिको अवशेषका कारण मानव जनस्वास्थ्य उच्च खतरामा रहेको अध्ययनहरूमा देखिएका छन्।” औषधिले काम नगर्ने अवस्था बन्दैनेपालमा सीधै र पशुपन्छीजन्य पदार्थ एवं अन्य स्रोतबाट पनि प्रतिजैविक पदार्थ मानव शरीरमा प्रवेश हुने गरेको विभिन्न अध्ययनले देखाएको विज्ञहरू बताउँछन्।
त्रिभुवन विश्वविद्यालयको सूक्ष्मजीवविज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा प्रतिजैविक प्रतिरोधबारे नेपालमा विभिन्न अध्ययन गरेका डा. मेघराज बन्जारा भन्छन्, “त्यसले गर्दा नेपालीको प्रतिजैविक प्रतिरोध (यस्ता औषधिले काम नगर्ने अवस्था) बढिरहेको छ।”
उनीसहितको टोलीले अध्ययन गरेको तथा सन् २०२१ मा ‘नेचर’ जर्नलमा प्रकाशित एउटा अनुसन्धानपत्रमा पनि नेपालमा त्यस्तो अवस्था रहेको पाइएको उल्लेख छ।
“त्यसपछि हामीले स्वास्थ्य अनुसन्धान परिषद्‌का लागि अर्को अध्ययन पनि गरेका छौँ। त्यसमा पनि त्यस्तै अवस्था देखिएको छ,” उनले भने।
“जथाभावी र अति धेरै प्रतिजैविक औषधिको प्रयोगले कैयौँ औषधिहरूले काम नगर्ने अवस्था बनेको देखिन्छ। तर नेपालले यस्ता औषधिको प्रयोगलाई ट्र्याक गर्ने र प्रयोगशाला परीक्षणबिना चिकित्सकले कडा खालका एन्टिबायोटिक सिफारिस गर्न नमिल्ने नियम लगाइएपछि कतिपय पहिले काम नगरेका औषधिले काम गर्न थालेका उदाहरण पनि छन्।” पशुपन्छीलाई छिटो बढाउन वा धेरै दूध आउने बनाउनका लागि प्रतिजैविक प्रयोग हुने क्रम नरोकिएको बताइन्छ।
यद्यपि हालै चितवनमा कुखुरामा गरिएको तथा प्रकाशन हुन बाँकी रहेको एउटा अध्ययनले कुखुरालाई बढाउनका लागि एन्टिबायोटिक प्रयोग गर्ने क्रम न्यून भएको देखाएको उनले बताए।
“अझै पनि ३८ प्रतिशत त एन्टिबायोटिक प्रयोग भएको भेटियो। रोग लागेपछि त्यो प्रयोग गर्नुपर्ने पनि हुन्छ तर आवश्यक नपरेका अवस्थामा पनि यस्तो प्रयोग हुने गरेको भेटिएको छ,” उनले भने।
प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजनामा नेपालमा मानव र पशुपन्छी दुवैमा औषधिले काम नगर्ने अवस्था बनिरहेको उल्लेख छ।(बीबीसी)
त्यसमा भनिएको छ, “…अधिकांश प्रतिजैविक औषधिहरू कम प्रभावकारी हुँदै गएको पाइएको छ। एमोक्सिसिलिन, , सिप्रोफ्लोक्सासिन र नोर्फ्लोक्सासिन औषधिहरू एशरिकिआ कोलाइ (ई.कोली)को सङ्क्रमणमा लगभग ४० प्रतिशत र क्लेब्सिएला निमोनीको सङ्क्रमणमा करिब २० प्रतिशतभन्दा कम मात्र प्रभावकारी पाइएको अध्ययनले देखाएको छ।”
पशुपन्छीमा पनि पति त्यस्तो प्रतिरोधी क्षमता विकास भइरहेको उल्लेख गरिएको कार्ययोजनामा भनिएको छ, “केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट भएका एन्टिबायोटिक संवेदनशीलतासम्बन्धी परीक्षण प्रतिवेदनहरूको विश्लेषणबाट धेरै किसिमका एन्टिबायोटिक्सविरुद्ध प्रतिरोध बढिरहेको देखिन्छ।”
त्यसमा जनाइएअनुसार विभिन्न स्थानबाट सङ्कलित कुखुरा र राँगाको मासु, डेरी उत्पादन र दूधको नमुनाको अध्ययन गर्दा “ई. कोलाई, एस. अरियस, स्ट्रेप्टोकोकस, माइक्रोकोकस, पास्चरेला लगायतका जीवाणुहरू एन्रोफ्लोक्सासिन, एमोक्सिसिलिन र कोलिस्टिन सल्फेटप्रति उच्च प्रतिरोधी रहेको र टेट्रासाइक्लिन, जेन्टामाइसिन र लिभोफ्लोक्सासिनप्रति कम संवेदनशील पाइएको” थियो।
सचेत हुन आग्रहविज्ञ तथा अधिकारीहरूले नेपालमा प्रतिजैविक औषधि नै प्रभावहीन हुने गरी त्यसको जथाभावी प्रयोग हुने गरेकाले सबै सचेत हुनुपर्नेमा जोड दिएका छन्।
नेपालमा सीमित जीवाणुहरू समेटेर प्रतिजैविक प्रतिरोधको निगरानी अर्थात् सर्भिलन्स हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेका विवरणहरूमा सन् १९९९ देखि नेपालमा प्रतिजैविक प्रतिरोधको निगरानी सुरु गरिएको थियो।
सन् २००४ देखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले राष्ट्रिय स्तरमा त्यस्तो काम गरिरहेको छ भने विभिन्न १० जीवाणुको सर्भिलन्स हुने गर्छ। देशभरिका २६ प्रयोगशालाले त्यस्तो सर्भिलन्स गरिरहेको तर थप प्रयोगशाला आवश्यक रहेको मन्त्रालयकै विवरणहरूमा उल्लेख छ।
“अहिले जेजति काम भएका छन् ती सबै पूर्ण र प्रभावकारी छैनन्। यसमा स्वास्थ्यकर्मी, औषधि विक्रेता बिरामीदेखि कृषकसम्म सचेत हुनुपर्ने जरुरी छ,” सहप्राध्यापक बन्जाराले भने।
“चिकित्सकले प्रयोगशालामा परीक्षण गरेर उपयुक्त र सही मात्र एन्टिबायोटिक्स दिनुपर्‍यो। पसलेले पनि सिफारिसबिना बेच्नु भएन। बिरामीले पनि जथाभावी प्रयोग गर्नु भएन र मात्रा पूरा खानुपर्‍यो,” उनी भन्छन्।
उनी यसका लागि जनचेतनाले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिन्छन्।
औषधि व्यवस्था विभागका सूचना अधिकारी केसी पनि सर्वसाधारण सचेत भएमा अनावश्यक प्रयोग न्यूनीकरण हुने ठान्छन्। “चिकित्सकको सिफारिसबिना यस्ता औषधि प्रयोग नगर्ने र दिइएको मात्रा पूरा गर्ने गर्नुपर्छ।” – आर्थिक दैनिक ।