× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

नेपालमा आइस हक्कीको दीर्घकालीन विकासका लागि रणनीति निर्माण हुँदै

Simrik Online

२० असार २०८२, शनिबार

✍️देविका ढकाल, काठमाडौं, असार २०। नेपाल आइस हक्की संघको आयोजनामा नेपालमा आइस हक्की खेलको दीर्घकालीन विकास रणनीति तयार पार्ने उद्देश्यले विशेष कार्यक्रम सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यो कार्यक्रम असार २०, २१ र २२ गतेका दिन काठमाडौंको बुढानिलकण्ठस्थित रोयल भिल्ला रिसोर्टमा भइरहेको छ ।
संघका सचिव दिपक नेपालको भनाइ अनुसार, नेपालजस्तो हिमाली र हिउँ पर्ने भूगोल भएको देशमा आइस हक्कीको अपार सम्भावना रहेको भन्दै यसलाई व्यवस्थित र दिगो बनाउने खाका तयार गर्न यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिव झलकराम अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो भने विश्व हिन्दु महासंघका केन्द्रीय अन्तर्राष्ट्रिय समितिका महासचिव आचार्य शम्भुहरि बास्तोला विशिष्ट अतिथिका रुपमा रहनुभएको थियोे । सरस्वती क्लवका अध्यक्ष उत्तम भण्डारी, नेपाल हक्की संघका उपाध्यक्ष मनोज ढुंगेल, केन्द्रीय सदस्य प्रतीक लोहनी लगायतका पदाधिकारीहरु, त्यसैगरी हक्कीका राष्ट्रिय प्रशिक्षक, खेलाडी, खेल विज्ञ तथा अन्तर्राष्ट्रिय परामर्शदाताहरूको समेत सहभागिता रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिव झलकराम अधिकारी, खेलकुदको पुर्वाधार निर्माणमा आफू सँधै सकारात्मक रहेको, प्रदेश सरकारले खेलकुदमा बजेट वृद्धि गरिरहेको, विद्यार्थीसँग खेलकुद जस्ता महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै खेलकुद संघहरुले आफूहरूले पनि कर्तव्य पूरा गरेर सरकारसँग सहकार्यमा आउन अनुरोध गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष विजय खड्काले बागमती प्रदेश सरकारको सहयोग भएकै कारणले नेपाल हक्की संघले छोटोे समयमै महत्त्वपूर्ण कार्य गर्न सफल भएको र अब पनि सरकारको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो ।

आइस हक्की विश्वका धेरै देशहरूमा अत्यन्त लोकप्रिय खेल हो र ओलम्पिक स्तरमा समेत प्रतिस्पर्धा हुने गरेको छ । नेपालमा पनि केही वर्षयता यस खेलप्रति युवाहरूको आकर्षण बढ्दो क्रममा छ।
विशेषज्ञहरूका अनुसार, आइस हक्कीले युवाहरूमा शारीरिक तन्दुरुस्ती, सहकार्य, रणनीतिक सोच र प्रतिस्पर्धात्मक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । साथै, यसले नेपालको हिमाली पर्यटनमा समेत नयाँ आयाम थप्न सक्छ। पर्यटन क्षेत्रसँग जोडिएर यो खेलले नयाँ रोजगारीका अवसर सिर्जना गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
नेपाल आइस हक्की संघले यस रणनीतिक कार्यशालाबाट प्राप्त सुझावहरूलाई संकलन गरी आगामी वर्षहरूका लागि स्पष्ट कार्ययोजना बनाउने र आवश्यक पूर्वाधार विकासमा समेत जोड दिने जनाएको छ ।
कार्यक्रम असार २२ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम दिन रणनीतिका मुख्य बुँदाहरू सार्वजनिक गर्ने र आइस हक्कीको प्रवर्द्धनका लागि विभिन्न सरोकारवाला निकायसँग सहकार्यका योजना घोषणा गरिने सचिव दिपक नेपालले जानकारी दिए।
नेपालजस्तो हिमाली देशमा आइस हक्कीजस्तो खेललाई दिगो रूपमा विकास गर्नुले राष्ट्रिय खेलकुदको विकास मात्र नभई पर्यटन, रोजगार र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।