काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे पनि बुधबार राति भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको भेटबारे मौनता साधेका छन्।
प्रधानमन्त्री ओलीको सम्बोधन मूलतः दसैँ र कोभिड-१९ को रोकथाम र उपचारमा केन्द्रित छ। विपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँगको भेटमा भएका कुराकानीबारे प्रधानमन्त्री ओलीले देशलाई बताउनुपर्ने माग गरेको छ।
तर, बुधबार राति तीन घन्टा भएको भेटबारे प्रधानमन्त्री ओलीले सम्बोधनमा केही उल्लेख गरेनन्। छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया गोयलले बुधबार राति ९ :१५ देखि मध्यराति १२ :१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए।
राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भएको छ।
‘रअ’का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो। भेट सकेर टोली बिहीबार बिहान दिल्ली फर्केको थियो ।
यसैबीच प्रधानमन्त्री र ‘रअ’ प्रमुखको भेटबारे असन्तुष्ट तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले आफुहरुको ‘रअ’का प्रमुख गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारिसकेका छन्।
प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका थिए।-नयाँपत्रिका।