× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

नेपाली कांग्रेस सोलु-काठमाडौं सम्पर्क समितिले २०० परिवारलाई दियो राहत

Simrik Online

२९ जेष्ठ २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिले काठमाडौं उपत्यकामा बसोबास गर्ने दैनिक ज्यालादारी मजदुर, विद्यार्थी लगायतका समस्यामा परेका २ सय घर-परिवारलाई राहत वितरण गरेको छ ।

दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण अति समस्यामा परेका सोलुखुम्बु स्थायी ठेगाना भई उपत्यकाका विभिन्न क्षेत्रमा अस्थायी रुपमा बसिरहेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरिएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताएका छन् ।

‘यसभन्दा अघि राहत वितरण गर्दा हामीले कुनै ठाउँमा बोलाएर दिने गरेका थियौं, तर अहिले सम्बन्धित स्थानीय तहका संयोजकले उनीहरु बसेको स्थानमै पुगेर राहत दिने व्यवस्था मिलाएका छौं ।’ सभापति बस्नेतले भने, ‘यसरी राहत वितरण गर्दा वास्तविक पिडितले पाउने भएकाले हामीले यस्तो प्रक्रिया अपनाएका हौं ।’

सम्पर्क समितिले सोलुखुम्बुको एक नगरपालिका र ७ गाउँपालिका स्थायी ठेगाना भई उपत्यकाका विभिन्न क्षेत्रमा अस्थायी रुपमा बसोबास गरिरहेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरेको हो । आजै सोताङ, महाकुलुङ, माप्य दुधकोशी र लिखुपिके गाउँपालिकाका संयोजकले राहत वितरण गरिसकेको बताएका छन् । खुम्बु पासाङल्हामु, नेचासल्यान, थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाका संयोजकले भने केहिलाई वितरण गरिसकेको र बाँकी रहेकालाई भोलीसम्म वितरण गरिसक्ने बताएका छन् ।