× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

तुरुन्तै संघीयता खारेज गरेर नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउँ : भण्डारी

Simrik Online

३ असार २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले संघीयताको औचित्य समाप्त भएको बताएका छन् । नेपाली कांग्रेसको आसन्न १४औं महाधिबेशनको तयारीका लागि बिहिबार बसेको केन्द्रीय समितिको बैठकमा नेता भण्डारीले यस्तो बताएका हुन् ।

प्रदेशको संरचना मुलुकका लागि भार मात्रै भएको भन्दै भण्डारीले भने ‘अहिलेको संघीयता नेपालीलाई थप आर्थिक बोझ मात्रै बोकाउने प्रष्ट भैसकेको छ । अहिले स्वयं प्रदेशसभाका माननीयहरुनै आफू भुमिका विहिन भएको बताउँदै आएको कुराले प्रष्ट हुन्छ । त्यसैले स्थानीय तहलाई थप जिम्मेवारी दिई मजवुत बनाएर तुरुन्त प्रदेश खारेज गर्नुपर्छ ।’

एक फरक प्रशंगमा नेता भण्डारीले भने ‘यो संघीयता र धर्मनिरपेक्षताको कुरा बढो झालझेल र कपटपुर्ण तरिकाले विदेशीको इशारामा लादिएको व्यवस्था हो । त्यतिबेलाको कांग्रेस नेतृत्वले सत्तासँग सिद्दान्त साटेकै हो । गत महासमिति बैठकमा ७१७ जना महासमिति सदस्य तथा हजारौं नेता कार्यकर्ताले स्वतःस्फुर्त रुपमा लिखित हस्ताक्षर गरेर वैदिक सनातन हिन्दु राष्ट्रको बिषय उठाएका थिए। आजका मितिसम्म सभापतिले छलफलमै नल्याउनु दुखद् बिषय हो ।’

‘इतिहास देखिनै मुलुकको अभिभावकीय भुमिका निर्वाह गर्दै आएको कांग्रेस कम्युनिष्टहरुको सहारा खोज्नुपर्ने अवस्थामा पुग्नुको मुख्य कारण पार्टीले वैदिक सनातन हिन्दुराज्य को अवधारणा नलिई कम्युनिस्टको लहैलहैमा लाग्नु हो ।’ नेता भण्डारीले भने ‘अबको एकमात्र विकल्प भनेको नेपाली कांग्रेसले वैदिक सनातन हिन्दुराज्यको एकशुत्रीय एजेन्डा लिएर अघि बढ्नु हो ।’

बिपि कोइरालाले कम्युनिस्टसँग कहिल्यै मिल्न नहुने बताएको भन्दै नेता भण्डारीले तत्कालीन नेतृत्वले पार्टीको मुल प्रवाह छोडेर सत्ता सँग सिद्धान्त साटेकै कारण सन्त, शालीन र आदर्शवादी नेता कृष्ण प्रसाद भट्टराईले जिवनको उत्तरार्द्दमा पार्टी छोडेको पनि बताए ।

कम्युनिस्टहरुले पटकपटक धोका दिएको स्मरण गर्दै नेता भण्डारीले अहिलेको विपक्षी गठबन्धनलाई पनि पुर्ण रूपमा विश्वास गर्ने आधार नभएको मध्यबिन्दु अनलाइनलाई बताए ।