× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

स्वास्थ्य र जलवायु परिवर्तनका लागि नेपाललाई ५४ अर्ब अनुदान घोषणा

Simrik Online

११ भाद्र २०७७, शुक्रबार

परराष्ट्र, अर्थ र वनमन्त्रीसँग बेलायती मन्त्रीको बेग्लाबेग्लै भिडियो संवाद

काठमाडौं । बेलायत सरकारले नेपाललाई स्वास्थ्य, हरित अर्थतन्त्र, जोखिममा परेकालाई सहायताका लागि करिब ५४ अर्ब नेपाली रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । बेलायतले जलवायु परिवर्तन विरुद्ध र हरित अर्थतन्त्रका लागि करिब ४७ अर्ब रुपैयाँ (४० करोड अमेरिकी डलर) तथा कोभिड– १९ महामारीमा स्वास्थ्य क्षेत्र तथा जोखिममा परेका समूहहरूको सहयोगका लागि करिब सात अर्ब १४ करोड रुपैयाँ (चार करोड ५८ लाख बेलायती पाउन्ड) सहयोग घोषणा गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबार भएको बेग्लाबेग्लै भिडियो संवादमा दक्षिण एसिया मामिला हेर्ने बेलायती परराष्ट्र राज्यमन्त्री तारिक अहमदले यो घोषणा गरेका हुन् । बेलायती मन्त्रीले घोषणा गरेको सात अर्ब १४ करोड रुपैयाँ सहयोग नेपालको स्वास्थ्य क्षेत्र तथा आम्दानी गुमाएका जोखिममा परेका समूहहरूको संरक्षणका लागि खर्च हुने बेलायती दूतावासले जनाएको छ । बेलायतले ‘युके एड’अन्तर्गत जलवायु परिवर्तनको असरविरुद्ध जुध्न र ‘ग्रिन रिकोभरी’का लागि ४० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको छ ।

बेलायती राज्यमन्त्री तारिकले वनमन्त्री शक्ति बस्नेत तथा सरोकारवालासँग भिडियो कन्फ्रेन्समा भने, ‘नेपालको हिमालयले लाखौँलाई पानी उपलब्ध गराएको छ । तर, जलवायु परिवर्तनले हिमनदीहरू दु्रतगतिमा पग्लिँदै गएका छन् । बेलायत नेपाललाई ग्रिन रिकोभरीमा ४० करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गर्दछ ।’

बेलायतले आगामी वर्ष नोभेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) आयोजना गर्दै छ । त्यसबेलासम्म नेपालले जलवायु परिवर्तनका क्षेत्रमा महत्वाकांक्षी परिणाम ल्याउने अपेक्षा गरेको राज्यमन्त्री तारिकले व्यक्त गरेका छन् । बेग्लै भिडियो संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले आगामी वर्ष नेपालले जलवायु परिवर्तनको एजेन्डामा सगरमाथा संवाद आयोजना गर्ने र बेलायतले आयोजना गर्ने कोप– २६ सम्मेलनमा नेपाल सक्रिय रूपमा सहभागी हुने जानकारी दिए । ज्ञवालीले जलवायु परिवर्तन तथा हिमालयको पारिस्थितिक प्रणाली संरक्षण एवं दिगो विकासको प्रयासमा नेपाल सहभागी हुने आश्वासन बेलायती राज्यमन्त्रीलाई दिएका छन् ।

बेलायती राज्यमन्त्री तारिकले अर्थमन्त्री तथा परराष्ट्रमन्त्रीहरूसँग सकारात्मक संवाद भएको ट्विटरमा उल्लेख गरेका छन् । उनले अर्थमन्त्री खतिवडासँगको संवादबारे लेखेका छन्, ‘अर्थमन्त्री युवराज खतिवडासँग सकारात्मक संवाद भयो । कोभिड– १९ को महामारी विरुद्ध नेपालको सुदृढ प्रयासमा नयाँ सहयोग घोषणा गर्दा म खुसी छु । स्वच्छ र सुदृढ नेपालको आर्थिक सुदृढीकरण र व्यापारलाई सहयोग हुने गरी हामीबीच विचारहरूको आदानप्रदान भएको छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र बेलायतबीच परराष्ट्रसचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठक केही महिनाभित्रै आयोजना गर्न दुई मन्त्रीबीच सहमति भएको छ । ज्ञवालीले कोभिड– १९ पछिको अवस्थामा नेपालले बेलायतबाट सहयोगको अपेक्षा गरेको बताएका छन् भने बेलायती राज्यमन्त्री तारिकले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन् । मन्त्री ज्ञवाली र राज्यमन्त्री तारिकबीच गत ४ जुनमा बेलायत सरकारले आयोजना गरेको खोप सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधनबारे चर्चा भएको परराष्ट्रले जनाएको छ ।

सार्क मन्त्रिपरिषद् बैठकको प्रयास, बिमस्टेक परराष्ट्रसचिवस्तरीय बैठक बस्दै :

नेपालले सार्कका परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठकका लागि कूटनीतिक प्रयास गरेको छ । हरेक वर्ष न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय महासभाका अवसरमा साइडलाइनमा सार्कको अनौपचारिक मन्त्रिपरिषद् (परराष्ट्रमन्त्रीस्तरीय) बैठक बस्ने गरे पनि यसपालि कोभिड– १९ को महामारीका कारण भिडियो कन्फरेन्सबाट बैठकको तयारी भएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार बुधबार (९ भदौ) बसेको मन्त्रिपरिषद् बैठकले सार्क मन्त्रिपरिषद् बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल तोकेको छ । संयुक्त राष्ट्रसंघीय महासभा यसपालि ३० भदौदेखि १४ असोजसम्म हुनेछ । भिडियो कन्फ्रेन्समार्फत हुने सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

न्युयोर्कमा राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई महासभामा सहभागी हुनेछन् भने नेपालबाट प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भिडियो संवादमा सहभागी हुनेछ । त्यही अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले सार्कको अध्यक्षका रूपमा सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठक आयोजना गर्नेछन् । परराष्ट्र स्रोतका अनुसार नेपालले सार्कका सात सदस्य मुलुकलाई कूटनीतिक च्यानलमार्फत पत्राचार गरिसकेको छ । ‘हामी सदस्य मुलुकसँग नेपालस्थित दूतावासमार्फत सम्पर्कमा छौँ,’ परराष्ट्र स्रोतले भन्यो । गत वर्ष न्युयोर्कमा सार्क मन्त्रिपरिषद् बैठक बसेको थियो ।

यसैबीच, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को वरिष्ठ अधिकारीहरूको भिडियो बैठक १७ भदौमा हुने भएको छ । बैठकमा बिमस्टेकसम्बद्ध सातै मुलुकका परराष्ट्रसचिव भिडियो बैठकमा सहभागी हुनेछन् । दुई वर्षअघि १५ भदौ ०७५ मा नेपालमा भएको बिमस्टेक शिखर सम्मेलनका एजेन्डा कार्यान्वयनको प्रगति तथा यो क्षेत्रमा सहकार्यको अवस्थाबारे बैठकमा छलफल हुनेछ । परराष्ट्रसचिव शंकरदास बैरागीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरेको छ । – नयाँपत्रिका