सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–११ तिङलाको रमितेबाट गत आइतबार पक्राउ परेका नेपाल तरुण दलका कार्यकर्ताहरु बिहिबार रिहा भएका छन् । उनीहरू रिहा भएपछि सोलुखुम्बु कांग्रेसले तिङ्लामा कोणसभा गरेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ का पार्टी सभापति नैनबहादुर कार्कीको सभापतित्वमा कोणसभा भएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति विनोदकुमार बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले कोणसभामा सम्बोधन गरेका थिए ।
आफ्ना भातृसंस्थाका कार्यकर्ताहरु माथि प्रशासनबाट निरन्तर रुपमा दमन भइरहेको, विपक्षी दलका कार्यकर्ताहरु अन्यायमा पर्दा उजुरी दर्ता समेत नगरेेर प्रहरी प्रशासन मूकदर्शक बनिरहेको, सत्ता र शक्तिको दबाव र प्रभावमा नियोजित ढंगले कांग्रेस कार्यकर्ताहरुलाई फसाउन खोजेर शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले नै संस्थागत रुपमा राजनीतिक र सामाजिक सद्भाव भड्काउन खोजेको सोलु कांग्रेसले जनाएको छ ।
प्रहरीले तरुण दल सोलुदुधकुण्ड नगरपालिकाका कार्यकर्ताहरु फुर्बा शेर्पा, शेरबहादुर मगर, भिमबहादुर मगर, चन्द्रबहादुर मगर, विजय मगर र मोहन कार्कीलाई नियोजित रुपमा पक्राउ गरी हिरासतमै शारीरिक यातना दिएको भन्दै परिवारका सदस्यहरुले प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालय अगाडि यसअघि नाराबाजी समेत गरेका थिए ।
यता प्रहरीले भने गस्तीमा हिडेका प्रहरीले रमितेका सन्तोष खड्काको घरमा होहल्ला गरेको सुनेपछि उनीहरूलाई सम्झाई बुझाई गर्दा नमानेको र मादकपदार्थ सेवन गरेका यूवाहरुले प्रहरी सहायक निरीक्षक सहितका प्रहरीमाथि कुटपिट गरेको भनि प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यस्तै प्रहरीले हिरासतमा कुनैपनि किसिमको गलत व्यवहार नगरेको स्पष्ट पार्दै कुनैपनि प्रकारको मिसबिहेव नगरिएको जनाएको छ ।
यस घटनाका प्रत्यक्षदर्शीले भने “घटनाको प्रकृति प्रहरीले भनेजस्तो नभएको, जन्मदिन मनाइरहेको कोठामा सादा पोशाकमा दुईपटक प्रहरी पसेको र तेस्रो पटक प्रहरी पोशाकमा आएर डण्डा बजारेर एक जना युवालाई डण्डाले हिर्काए पछि अन्य यूवाहरु प्रतिकारमा उत्रिएको बताएका छन् ।”
सोलुदुधकुण्ड नगरपालिकामा कांग्रेसलाई कमजोर बनाउन सत्ताको आडमा प्रशासनले नियोजित रुपमा कार्यकर्ता फसाउन खोजेको भन्दै यस घटनालाई सोलुखुम्बु काँग्रेस र नेपाल तरुण दल सोलुखुम्बुले विनाशर्त रिहाको माग गरेको थियो ।
प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको भएपनि नेपाली काङ्ग्रेस र पक्राउ परेका यूवाहरुको परिवारका सदस्य तथा आफन्तहरुले प्रहरीले झुटो आरोपमा फसाएको भन्दै विनाशर्त रिहाइको माग गर्दै आन्दोलनको चेतावनी दिएका थिए ।
सोमबारदेखि दबाब कार्यक्रम निरन्तर राखेका पक्ष र स्थानीय प्रशासनबीच छलफलपछि कानुनी प्रक्रिया पुरा गरी रिहा गर्ने सहमति भएको थियो । (तस्वीर सौजन्य : अश्विन थापाबाट)