× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

विदेशमा घुम्न र पढ्न जाने रोकिँदा ३६ अर्ब जोगियो

Simrik Online

१२ भाद्र २०७७, शनिबार

काठमाडौं । कोरोना भाइरस महामारीका कारण अध्ययन र भ्रमणका लागि विदेश जानेहरु रोकिँदा नेपालको करिब ३६ अर्ब रुपैयाँ बिदेशिनबाट जोगिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा अध्ययन र घुम्नका लागि विदेश जाने नेपालीबाट ५३ अर्ब १३ करोड रुपैयाँ विदेश पुगेको छ । यो रकम आर्थिक वर्ष २०७५/७६ मा भने ८९ अर्ब ९० करोड रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसरी हेर्दा २०७५/७६ मा भन्दा २०७६/७७ मा ३६ अर्ब रुपैयाँ कम खर्च भएको हो ।

शिक्षाका लागि आर्थिक वर्ष २०७६÷७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा भने ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको थियो । यसरी हेर्दा विदेश अध्ययन गर्न जानेहरु कोरोना महामारीका कारण रोकिँदा देशको २० अर्ब रुपैयाँ जोगिएको छ ।

अघिल्ला वर्षहरुमा नेपाल आउने विदेशी पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश घुम्न जाने र अध्ययनका लागि विदेश जानेहरुले लैजाने रकम बढी थियो । तर आर्थिक वर्ष २०७६/७७ मा भने यस्तो रकम ७ अर्ब भन्दा बढी बचत भएको छ । आव २०७६/७७ मा नेपाल घुम्न आउनेहरुबाट ६० अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएकामा विदेश घुम्न जाने र अध्ययन गर्न जानेले ५३ अर्ब १३ करोड रुपैयाँ खर्च गरेका थिए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आ.व.मा पर्यटकले नेपालमा गर्ने खर्च समेत उल्लेख्य घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा भ्रमण आय ६० अर्ब ८९ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७५/७६ मा भ्रमणबाट भएको आय ७५ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।

यसरी शिक्षाका नाममा विदेशिने ठूलो रकममा आएको कमीले सग्रममा सेवा खाता बचतमा रहन सफल भएको हो ।

आर्थिक वर्ष २०७६/७७ को चैतयता पर्यटकबाट हुने आय शून्य रहेको छ । सरकारले १० चैतबाट सबै प्रकारका हवाई उडानमा लगाएको प्रतिबन्धपछि पर्यटक आउन बन्द भएको हो ।

पछिल्लो तीन वर्षमा शिक्षाका लागि विदेशिएको रकम :

आव २०७४/७५ : ३८ अर्ब ८ करोड
आव २०७५/७६ : ४६ अर्ब ३२ करोड
आव २०७६/७७ : २५ अर्ब ८१ करोड

पछिल्लो तीन वर्षमा भ्रमण आय :

आव २०७४/७५ : ६८ अर्ब ५२ करोड
आव २०७५/७६ : ७५ अर्ब ३७ करोड
आव २०७६/७७ : ६० अर्ब ८८ करोड

शिक्षासहित तीन वर्षमा भ्रमण व्यय :                           आव २०७४/७५ : ७९ अर्ब ५९ करोड
आव २०७५/७६ : ८९ अर्ब ९० करोड
आव २०७६/७७ : ५३ अर्ब १३ करोड  – अनलाइनखबर