सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका भित्र समाजसेवा र विकास निर्माणका कामहरूलाई प्राथमिकता दिंदै आएको सोलु दुधकुण्ड यूथ क्लवमा क्षितिज तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लबमा नयाँ कार्यसमिति आउनासाथ विगत ४ वर्षदेखि सोलुखुम्बुमा स्वास्थ्य सेवा दिइरहेको सोलु हेल्थ केयर सेन्टर र क्लवको सहकार्यमा थाइराइड सम्बन्धि रोगको उपचार शुरु गरिने भएको छ ।
क्लव सँगको सहकार्यमा सोलु हेल्थ केयर सेण्टरको कार्यालयबाट प्रदान गरिने उपचार सेवाको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले आज उद्घाटन गरेका छन् ।
हिमाली जिल्ला सोलुखुम्बुमा थाइराइड टेस्ट सुविधा थपिएसँगै स्वास्थ क्षेत्रमा केही हदसम्म सुधार गर्न सकिने बिश्वास क्लबले लिएको नवनिर्वाचित अध्यक्ष तामाङले बताएका छन् ।
कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै शनिबार सल्लेरी स्थित आफ्नै कार्यालयमा सम्पन्न अबिधेशनबाट क्षितिज तामाङको अध्यक्षतामा क्लबले कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । क्लबको उपाध्यक्षमा सुरेश सोनाम (बारिस सोनाम), सचिवमा मदन श्रेष्ठ, सहसचिवमा श्यामध्वज राई, कोषाध्यक्षमा विनोद परियार र सदस्यहरुमा क्रमश: विजय मोक्तान, अर्जुन श्रेष्ठ, लोकराज श्रेष्ठ, गजेन्द्र केसी र सागर राजभण्डारीलाई चयन गरिएको क्लबका निवर्तमान अध्यक्ष तेजराम परियारले जानकारी दिएका छन् । नयाँ कार्यसमितिमा तीनजना सदस्य भने पछि मनोनित गरिने क्लबले जनाएको छ ।
यसैबीच क्लबको नयाँ नेतृत्वलाइ नेपाल लोकतान्त्रिक खेलकुद संघ सोलुखुम्बु लगायतका संघसंस्थाले बधाई दिएका छन् । लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्ष निरकुमार शर्माले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वले क्लबलाई जिल्लाकै अग्रणी बनाउन उदाहरणीय काम गर्ने बिश्वास व्यक्त गरेका छन् ।