काठमाडौं । बेरोजगार युवाहरुलाई लक्षित गरेर सरकारले ‘श्रम सूचना बैंक’को स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भर्चुअल कार्यक्रम मार्फत आइतबार औपचारिक रुपमा यसको उद्घाटन गरेका हुन् । सरकारद्वारा चालू आर्थिक वर्षमा घोषित कार्यक्रमलाई सम्बोधन गर्नका लागि सरकारले श्रम सूचना बैंक स्थापना गरेको मन्त्री यादवले बताएका छन् ।
श्रम सूचना बैंक बेरोजगार युवाहरुका लागि सरकारको स्वामित्वमा रहेको रोजगारी खोजी गर्ने उपयुक्त माध्यम हुने बताइएको छ । श्रमिक सूचना बैंक स्थापना भएकोले अबदेखि कुनै पनि श्रमिक आफ्नो पहिचानबाट बञ्चित नहुने मन्त्री यादवको बुझाइ छ । सूचना बैंकमा औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत रहेका सबै श्रमिकहरुको विवरण राखिनेछ ।
अहिलेसम्म सरकारसँग नेपालमा कति श्रमिक छन् र कुन क्षेत्रमा कसरी काम भइरहेको भन्ने कुनै तथ्यांक नभएको र यकिन तथ्याङको अभावमा सरकारलाई श्रमिक लक्षित योेजना बनाउन कठिन भएको भन्दै मन्त्री यादवले अहिलेको परिस्थितिमा नेपालमा श्रमिक सूचना बैंक महत्वपूर्ण हुने बताएका छन् ।
मन्त्रालयले सूचना बैंकमा देशभरका सबै श्रमिकको तथ्यांक राख्ने काम शुरु गरिसकेको बताउदै मन्त्री यादबले कृषि लगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के-कति संख्यामा रहेका छन्, के-कस्ता ज्ञान शिप हाँसिल गरेका छन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उदेश्यले श्रमिक बैंकको स्थपना गरिएको जानकारी दिएका छन् ।
७५३ वटै स्थानीय तहहरुमा रहेको रोजगार व्यवस्थापन सूचना प्रणालीलाई सुदृढीकरण गरी क्षेत्रगत रुपमा सीपमूलक जनशक्तिको विवरण संकलन तथा अद्यावधिक गरी सरकारी तथा निजी क्षेत्रलाई उपयोगी हुने विश्वासका साथ स्थानीय सरकार तथा प्रदेश सरकारसँगको साझेदारीमा अन्तरआवद्धता कायम हुने गरी प्राथिमकतापूर्वक श्रमिक बैंकको कार्य गरिने लक्ष राखिएको छ ।
यसैबीच विदेशबाट फर्किएका श्रमिकलाई स्वदेश भित्रै रोजगारी सृजना गर्ने गरी सरकारले योजना बनाइरहेको पनि मन्त्री यादवले बताएका छन् ।