× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

नेकपामा लिखित सदस्यता मात्रै मान्य, नवीकरणमा प्रमाण अनिवार्य

Simrik Online

२८ भाद्र २०७७, सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटीको निर्णयलाई सहयोग पुग्ने गरी सदस्यतासम्बन्धी काम अगाडि बढाउन असोज महिनाभरि विवरण संकलन गर्ने, कम्प्युटरमा व्यवस्थित अभिलेखसहितको कागजात नभए हस्तलिखित विवरणलाई पनि अद्यावधिकका लागि मान्यता दिने निर्णय छ । तर, सदस्यता लगत एकीकृत गर्न विवरण पेस गरेर मात्र हुँदैन, नवीकरण गर्दा सम्बन्धित व्यक्तिले नै सदस्यता काटेको रसिद, प्राप्त गर्दा भएको सिफारिस या निर्णयको माइन्युट या कुनै न कुनै प्रमाण पेस गर्नुपर्ने कुरालाई अनिवार्य गरिएको छ ।

नेकपाको संगठन विभागले पार्टी सदस्यता अद्यावधिकको झमेला टुंग्याउन हस्तलिखित विवरणलाई पनि मान्यता दिने निर्णय गरेको छ । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकताको दुई वर्ष पुग्दा पनि सदस्यता नवीकरण सकिएको छैन । चैतमा महाधिवेशन गर्न सदस्यता नवीकरण नेकपाका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य छ ।

संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार बसेको बैठकमा पूर्वमाओवादी समूहले व्यवस्थित अभिलेख नरहेको समस्या दोहो-याएपछि गाँठो फुकाउन हस्तलिखित विवरणलाई पनि मान्यता दिएर मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना पास गरेको हो । तर, विवरण अद्यावधिक भइसकेपछि नवीकरणका वेला भने सम्बन्धित व्यक्तिले नै सदस्यता लिएको खुल्ने कागजात या तत्कालीन पार्टीले गरेको सिफारिस र निर्णय–पुस्तिकाको कपी प्रमाणका रूपमा अनिवार्य पेस गर्नुपर्ने गरी निर्णय भएको नेता भीम आचार्यले जानकारी दिए ।

‘पार्टी स्थायी कमिटीको निर्णयलाई सहयोग पुग्ने गरी सदस्यतासम्बन्धी काम अगाडि बढाउन असोज महिनाभरि विवरण संकलन गर्ने, कम्प्युटरमा व्यवस्थित अभिलेखसहितको कागजात नभए हस्तलिखित विवरणलाई पनि अद्यावधिकका लागि मान्यता दिने निर्णय गरिएको छ,’ आचार्यले भने, ‘तर, सदस्यता लगत एकीकृत गर्न विवरण पेस गरेर मात्र हुँदैन, नवीकरण गर्दा सम्बन्धित व्यक्तिले नै सदस्यता काटेको रसिद, प्राप्त गर्दा भएको सिफारिस या निर्णयको माइन्युट या कुनै न कुनै प्रमाण पेस गर्नुपर्ने कुरालाई अनिवार्य गरिएको छ ।’

विभागकी सदस्य रेखा शर्माले पनि पार्टी सदस्य रहेको कुनै न कुनै प्रमाणका आधारमा मात्र नवीकरण गरिने बताइन् । ‘सदस्यता लिएको हकमा सम्बन्धित व्यक्तिको परिचयपत्र, नबाँडेको हकमा तत्कालीन जिल्ला कमिटीहरूले गरेको निर्णयको रेकर्डमध्ये केही न केहीलाई आधार मानेरै नवीकरण हुन्छ,’ शर्माले भनिन् ।

उनले विशेषतः पूर्वमाओवादीभित्र २ नम्बर प्रदेशमा व्यवस्थित अभिलेखमा समस्या देखिएकाले विवादित जिल्लाहरूमा मात्र कुनै न कुनै कागजातका आधारमा नवीकरण टुंग्याउनुपर्ने अवस्था रहेको बताइन् । ‘जिल्लामै पहिला विवरण एकीकृत हुन्छ, समस्या आयो भने त्यहीँ समाधान गरिन्छ, नभए मात्र केन्द्रमा विभागले समाधानको प्रयास गर्छ,’ शर्माले भनिन् ।

शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले आगामी २५ देखि ३० चैतसम्म एकता महाधिवेशन गर्न संगठनात्मक तयारी अघि बढाउन निर्देशन दिएपछि छलफलका लागि पार्टी कार्यालय धुम्बाराहीमा विभागको बैठक बसेको थियो । नेकपाले पार्टी एकीकरणपछि पूर्वएमालेको ५ लाख र पूर्वमाओवादीको ३ लाखसहित करिब ८ लाख सदस्यता रहेको दाबी गर्दै आएको छ । पूर्वएमालेले सदस्यता लिएको, नवीकरण गरेको मितिसहितको सबै सदस्यको तीनपुस्ते विवरणलाई कम्प्युटराइज्ड प्रणालीमै व्यवस्थित अभिलेख राखे पनि पूर्वमाओवादी समूहसँग भने त्यस्तो अभिलेख छैन ।

पहिलो संविधानसभा निर्वाचनको केही वर्षपछि पार्टी धेरै चिरामा विभाजित हुँदा सदस्यता अभिलेख छिन्नभिन्न भएकाले समस्या परेको भन्दै पूर्वमाओवादी समूहले भने थुप्रै जिल्लाबाट हस्तलिखित विवरण पेस हुन सक्ने जानकारी गराएको छ । उनीहरूले त्यस्तो समस्या दर्शाएका कारण तत्कालका लागि सदस्यता विवरण संकलनलाई सहज बनाउन गाँठो फुकाउने विकल्प रोजिएको नेताहरूको भनाइ छ ।

शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले चैतमा महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहितको तयारीबारे छलफल गर्न १५ देखि १७ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । संगठन विभागको कार्ययोजनामा आगामी कात्तिकभित्र सम्बन्धित जिल्ला कमिटीले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने स्थायी कमिटीको निर्णय छ । यसबाहेक मंसिरभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने तथा प्रवास क्षेत्रमा पनि सोहीअनुरूप गर्ने प्रस्ताव स्थायी कमिटीबाट पारित भएको छ । विभागले महाधिवेशन तयारीकै सिलसिलामा छलफल गरेको हो ।

त्यस्तै, बैठकले पूर्वएमालेबाट ज्ञानबहादुर भुजेल र माओवादीबाट हेमराज भण्डारीलाई विभागको सदस्यका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । भुजेल तत्कालीन एमाले र भण्डारी तत्कालीन माओवादीमा विभागको सचिवको भूमिकामा थिए । बैठकले भुजेललाई संगठन विभागको कार्यालय सचिवको जिम्मेवारी तोक्नेसमेत निर्णय गरेको छ । त्यस्तै, बैठकले कैलालीका सांसद दीर्घ सोडारीमाथि पार्टीले सदस्यतासमेत नरहने गरी गरेको अनुशासनको कारबाही फिर्ता लिने प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । नेता आचार्यले यसबीचमा विभिन्न पार्टीबाट नेकपा प्रवेश गरेकाबाहेकलाई नयाँ सदस्यता वितरण नगरिने पनि जानकारी दिए । स्थायी कमिटी बैठकको निर्णयको सर्कुलर जारी भएलगत्तै पुनः अर्को बैठक बस्ने विभागका नेताहरूबीच समझदारी भएको छ ।

गत ३ साउनमा बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतम प्रमुख र स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई विभागको उपप्रमुखको जिम्मेवारी तोकेको थियो । २९ असोजमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी मनोनीत भएका थिए भने २१ माघमा बसेको बैठकले भीम रावल, भीम आचार्य, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, रेखा शर्मा र जगप्रसाद शर्मालाई मनोनीत गरेको थियो । पछिल्लोपटक भुजेल र भण्डारीको मनोनयनसँगै नेकपाको संगठन विभाग १७ सदस्यीय भएको छ । विधानअनुसार विभागलाई ३५ सदस्यीय बनाउन पाइन्छ । – नयाँपत्रिका