काठमाडौं, १३ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर बिस्तारका लागि थप घरजग्गा खरिद गर्ने भएको छ।
नेपाली कांग्रेस,केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडीपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने भएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता सम्पन्न भएको छ । ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी बुधबार महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा सम्झौता सम्पन्न भएको उनले जानकारी दिए ।
सो जग्गा नेपाली कांग्रेसले १३ करोड रुपैयाँमा खरिद गर्न लागेको हो। पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने पौडेलद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ।