× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

सुगा जापानको प्रधानमन्त्रीमा निर्वाचित

Simrik Online

३० भाद्र २०७७, बुधबार

योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।

बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन् । उनले खसेको ४६२मध्ये ३१४ मत पाएका छन् ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले विजयी भएका थिए ।

उनी यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी थिए । सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो ।

७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताएका छन् ।

आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिए थिए । सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन् ।

पार्टीको चुनाव जितेपछि सुगाले आबेलाई धन्यवाद दिएका थिए ।

‘म अकिताका एक किसानको जेठो छोराको रूपमा जन्मिएको थिएँ,’ सुगाले भने, ‘कुनै ज्ञान वा रगतको नाता नहुँदै, मैले राजनीतिको विश्वमा शून्यबाट प्रवेश गरें र परम्परा र इतिहासका साथ म एलडिपीको प्रमुख बन्न सक्षम भएँ ।’

उत्तर जापानका स्ट्रबेरी किसानका छोरा सुगाले स्थानीय तहको सदस्यको रूपमा राजनीति सुरू गरेका थिए । सन् २०१२ देखि उनी आबेको क्याबिनेटमा कार्यरत थिए ।