× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
मुख्य खबर

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै, छलफलका विषय यस्ता छन्

Simrik Online

१ आश्विन २०७७, शुक्रबार

काठमाडौं । पार्टीको स्थायी कमिटी बैठक सकिएलगत्तै नेकपाले आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाएको छ । पार्टी एकताका काम सक्ने, मन्त्रिपरिषद् पुनगर्ठन र संवैधानिकलगायतका निकायमा नियुक्तिका विषय आजको बैठकका लागि एजेन्डा तय भएका छन् ।

ओली र दाहालबीच बुधबार भएको भेटमा सचिवालय बैठकको मिति र एजेन्डा तय भएका हुन् । स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनको निर्णय लिएको छ । यसबाहेक संवैधानिकलगायतका निकायमा नियुक्तिलाई पनि नेकपाले महत्वका साथ लिएको बताइएको छ ।

यसबाहेक यही असोजभित्र पार्टी एकताका काम सक्ने स्थायी कमिटी बैठकको निर्णय छ । यी सबै निर्णयलाई व्यवहारिकरुपमै कार्यन्वयन गर्नेगरी सचिवालय बैठक बोलाइएको बताइएको छ । अहिलेसम्म प्रधानमन्त्री निवास बालुवाटारमै सचिवालय बैठक बस्दै आएको थियोे । तर २६ भदौको स्थायी समिति बैठक पार्टी एकतासहित अघि बढेको सन्देश दिन ओली र दाहाल पेरिसडाँडामा बैठक बोलाउन सहमत भएका हुन् ।