वासुदेव न्यौपाने, काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास आज (शुक्रबार)देखि शुरु भएको छ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमासको समयावधि रहेको छ । एक चान्द्रमासभरि कुनैपनि शुभकर्म गर्न नमिल्नेगरि शुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं, तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ ।
ज्यौतिषीय सिद्धान्त अनुसार सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष ८ महिना १६ दिन र ४ घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ । यस वर्ष सोही गणनाक्रम अनुसार असोज २ गतेदेखि कार्तिक १ गतेसम्म अधिकमास मनाउन लागिएको हो ।
सनातन हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ । त्यस्तै चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ ।
हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपला अर्थात् लगभग ११ दिनको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ । यही अशुद्ध भनिएको महिना नै मलमास हो ।
धर्मशास्त्रका जानकारहरूका अनुसार यो चाडमा निश्चित कर्मबाहेक लग्न जुराएर गर्ने सबै किसिमका पर्वहरू प्रतिबन्धित हुने गर्छ ।
पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष समेत रहेका प्रा.डा. माधवप्रसाद भट्टराई “यो महिना अशुद्ध भएको र गणनामा नै नहुने भएकोले यो एक महिना कुनै पनि मुहूर्त जुराएर गर्ने काम गर्न शास्त्रले निषेध गरेको” बताउँछन् ।
त्यस्तै वैदिक पञ्चाङ्ग (वेदाङ्ग ज्यौतिष) अनुसार असार र कात्तिक महिनामा मात्रै अधिकमास मनाउने चलन भए पनि अहिलेको सुर्यसिद्धान्त अनुसार चलनचल्तीमा रहेको ज्योतिष पञ्चाङ्ग अनुसार अधिकमास मनाएको २ वर्ष, ८ महिना, १६ दिन र ४ घडी पुगेपछि अधिकमासको योग बन्ने गरेको नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.डा. चेतमणि न्यौपाने बताउँछन्।
अधिकमासमा गर्न हुने कुरा :
–नित्य कर्म
–नियमित गरिँदै आएको व्रत
–निस्काम भावले गरिने सत्संग
–विष्णुको स्तुति र कीर्तन
–न्वारन, पास्नी
–दैनिक उपभोग्य सामग्री खरिद आदि ।
अधिकमासमा गर्न नहुने कुरा :
–कुनै पनि काम्य कर्म
–मुहूर्त जुराएर गर्ने सबै काम
–गृह प्रवेश
–नयाँ तीर्थको यात्रा
–नयाँ व्यवसाय सुरु
–नयाँ व्रतको सुरुवात
–नयाँ संरचना निर्माणको थालनी आदि ।