मनेश निरौला, काठमाडौं । सार्वजनिक यातायातमा गरेको भाडावृद्धिको निर्णय फिर्ता लिन १३ विद्यार्थी संगठनले सातदिने अल्टिमेटम दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बुधबार मागपत्र बुझाउँदै विद्यार्थी संगठनले माग सम्बोधनका लागि अल्टिमेटम दिएको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिएका छन् ।
लकडाउन र निषेधाज्ञा हटाइ सकेपछि लामो तथा छोटो दूरीका यातायातमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडावृद्धि गर्ने निर्णयले आमयात्रुमा असहज परिस्थिति निर्माण गरेको भन्दै विद्यार्थी संगठनले उक्त निर्णय खारेजी गर्न माग गरेका छन् ।
१३ विद्यार्थी संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेको संयुक्त मागपत्रमा हवाईजहाजमा जस्तै बसहरूमा पनि पूर्ण क्षमता यात्रुहरू राख्न दिनुपर्ने, सिट क्षमताभन्दा बढीसमेत यात्रु राखी भाडा भने दोब्बर असुल्ने गरी भएका गतिविधि तुरुन्त अन्त्य हुनुपर्ने, पुराना गाडी चलाई दुर्घटना निम्त्याउने व्यवसायीलाई कडा कारबाही गर्नुपर्नेलगायतका विषय समेटिएका छन् । विद्यार्थी संगठनले मन्त्री नेम्वाङलाई असोज ७ गते बुधबार बुझाएको मागपत्र यस्तो छ ।