× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

असोज १४ मा सम्झौता भएपछि यस्ता कामदार इजरायल जान पाउने

Simrik Online

८ आश्विन २०७७, शुक्रबार

काठमाडौं । नेपाल र इजरायलबीच यही असोज १४ गते जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।
इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र) मा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको बताइएको छ ।

नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले सम्झौतापत्रमा हस्ताक्षर गर्ने तेलअभिभस्थित नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले इराजयलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो । बैठकले श्रम सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा.शाक्यलाई अख्तियारी दिने निर्णयसमेत गरेको बताइएको छ ।

दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट कामका लागि गएका नेपाली श्रमिकले इजरायली नागरिकसरहको सेवासुविधा र संरक्षण पाउने छन् । नेपाली श्रमिकलाई यसबाट फाइदा हुनेछ ।

नेपाल र इजरायल बीच विभिन्न चरणमा भएको द्विपक्षीय छलफलका क्रममा इजरायल विशेष गरी केयर गिभरमा नेपाली श्रमिक लैजान सकारात्मक देखिएको थियो । इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर ल्याउने विषय टुङ्गोमा पुग्दै गर्दा त्यहाँस्थित नेपाली दूतावासले थप सक्रियता देखाएको बताइन्छ ।

नेपाली केयर गिभर लैजाने पूर्वसन्ध्यामा इजरायल सरकारका प्रतिनिधि र दूतावासका उच्च अधिकारीले कार्यस्थल एवं कार्य वातावरणको जानकारी लिने उद्देश्यले केही क्षेत्रको स्थलगत अनुमगन गरेका छन् । केही दिनअघि राजदूत शाक्यले नेपाली केयर गिभरले काम गर्नुपर्ने नर्सिङ होमको स्थलगत भम्रण गरेका थिए । भ्रमणमा राजदूत शाक्यसँगै नेपालका लागि नवनियुक्त इजरायली राजदूत हानन गोदर, नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरे, इजरायलको स्वास्थ्य र श्रम मन्त्रालय, अध्यागमन कार्यालय तथा इजरायलमा कार्यरत विदेशी श्रमिकको हकहितमा क्रियाशील संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको दूतावासले जनाएको छ ।

इजरायलमा जान चाहनेले आँफूलाई सम्पर्क गर्नुहोला भन्दै ठगी गर्ने मनशायका साथ सामाजिक सञ्जालमा केही व्यक्तिले गलत सूचना फैलाएकामा नेपाली दुतावासले ध्यानाकर्षण भएको जनाएको छ । पहिलेको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने पनि दूतावासले जनाएको छ ।

यस्ता व्यक्ति केयर गिभरमा जान पाउँछन्

केयर गिभरमा छनोट हुनका लागि अनमी वा अन्य शैक्षिक उपाधि हाँसिल गरेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालीम लिएको हुनुपर्नेछ ।

यस्तै लिखित तथा अन्तर्वार्ता दुवैमा अङ्ग्रेजी भाषा उत्तीर्ण, निश्चित उमेर, तौल र उचाइ, स्वास्थ्य अवस्था ठीक भएको तथा कुनै आपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति स्वच्छ प्रतिस्पर्धाबाट छनोट गरिने दूतावासले जनाएको छ ।

यसअघि इजरायल गएका व्यक्ति उम्मेदवार हुन नसक्ने पनि दूतावासले प्रष्ट पारेको छ । छनोट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका बाहेक निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकाले कुनै हल्लाको पछाडि नलाग्न समेत दूतावासले आग्रह गरेको छ ।