काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोकसेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार परीक्षा सुचारु हुन लागेको हो । मन्त्रिपरिषद्ले अनुमति दिएपछि आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्न लागिएको छ । परीक्षाका लागि आयोगले विशेष मापदण्ड बनाएर लागू गर्ने भएको छ । कोरोनाका कारण करिब १३ हजार पदको भर्ना प्रक्रिया स्थगित भएको थियो । यो वर्षको पनि भर्ना कार्यक्रम शुरु हुन सकेको छैन ।