दक्षिण कोरिया । दक्षिण कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी नियममा केही सहजता बनाउने भएको छ ।
दक्षिण कोरियाको श्रम मन्त्रालयले बिहीबार नियम संशोधनका लागि संसद्मा पठाएको छ । नियम पारित भए पछि कोरियामा रहेका पाँच लाख भन्दा बढी ईपीएस भिसामा काम गरिरहेका विदेशी कामदारहरु लाभान्वित हुनेछन् ।
दक्षिण कोरियामा हालसम्म कम्पनीको कारण बाहेक कामदार स्वयंले कम्पनी परिवर्तन गरेमा ४ वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि कोरिया आउन चाहे भाषा परीक्षा दिनुपर्ने नियम छ । तर नयाँ नियम अनुसार कार्यस्थल परिवर्तन गरेको कामदारले पहिले गरेकै जस्तो काम गरेमा भाषा परिक्षा नदिइ नै कमिटेड कामदारको रुपमा कोरिया फर्कन पाउनेछन् । यसका लागि नयाँ कम्पनीमा १ वर्ष भन्दा बढी काम गरेको हुनुपर्ने बताइएको छ ।
कमिटेड कामदारले ३ महिना पछि मात्रै कोरिया आउन पाउने वर्तमान व्यवस्था परिवर्तन गरेर १ महिना पछि नै पहिलेको कम्पनीमा आउन पाउने छन् । यदि कामदारले कम्पनीमा यौन दुर्व्यवहारमा परि कार्यस्थल परिवर्तन गरेको भए नयाँ कम्पनीमा १ वर्ष काम नगरे पनि सम्बन्धित निकायको सिफारिसमा पुन: कमिटेड कामदारको रुपमा आउन पाउने ब्यवस्था गरिने भएको छ।
यस अगाडि ईपीएसको नियम राम्रो नभएको भन्दै कोरियाली मजदुर युनियन (केसीटीयू) र विदेशी कामदारहरुको लागि काम गर्ने प्रवासी मजदुर संगठन (एमटीयू) ले विरोध गर्दै आएका थिए । अहिले दुवै संस्थाले सरकारको कदम सकारात्मक भएपनि अझै धेरै सुधार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।