× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
विशेष

प्रेस काउन्सिल अध्यक्ष बुढाथोकी सम्पादक सहितका जिम्मेवारीबाट अलग

Simrik Online

१४ आश्विन २०७७, बिहीबार

काठमाडौं । प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष गोपाल बुढाथोकीले नैतिकताकाे कारण देखाएर साँघु साप्ताहिकको सम्पादकको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । २०३५ सालदेखि प्रकाशित साँघुमा बुढाथोकी शुरुदेखि हालसम्म सम्पादकको भूमिकामा थिए । यससँगै बुढाथोकीले विभिन्न संघ संस्थासँगको आबद्धता पनि त्याग गरेका छन् ।

यही असोज ९ गते प्रेस काउन्सिल सञ्चालक समितिको निर्णयबाट कार्यवाहक अध्यक्षमा चयन भएका बुढाथोकीले असाेज १४ गते बुधबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सम्पादकको जिम्मेवारीबाट आँफू अलग भएको घोषणा गरेका हुन् ।

प्रेस काउन्सिलको नेतृत्वमा रहेका व्यक्ति पत्रिकाको सम्पादकसहित दोहोरो भूमिकामा रहने गरेको इतिहास ब्रेक गर्दै बुढाथोकीले सकारात्मक सन्देश प्रवाह गरेका छन्, यसअघि सञ्चार माध्यमको नियामक निकायको नेतृत्व गर्ने व्यक्ति दोहोरो भूमिकामा रहेको भन्दै आलोचना हुने गरेको थियो।

प्रतिबद्धता पत्रमा बुढाथोकीले प्रेस काउन्सिल नेतृत्वमा रहँदा पत्रिकाको सम्पादक हुन मनासिव नहुने भएकाले साँघु साप्ताहिकको सम्पादकको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन् ।

“सर्वप्रथम म यस संस्थाको कार्यवहाक अध्यक्ष बहाल रहुञ्जेल म कार्यरत रहेको साँघु साप्ताहिकको सम्पादक पदमा नरहने जानकारी गराउँदछु, साथै यस पदमा बहाल रहुञ्जेल कुनै पनि सञ्चारमाध्यमको सम्पादकको भूमिकामा नरहने प्रतिबद्धता व्यक्त गर्दछु ।” प्रतिबद्धता पत्रमा भनिएको छ।

काउन्सिलको कार्यवाहक अध्यक्षको भूमिकामा बहाल रहुञ्जेल कुनैपनि राजनीतिक दल र पेसागत संघ सङ्गठनको सदस्यसमेत नरहने घोषणा पनि बढुाथोकीले गरेका छन् ।