काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पीसीआर परिक्षणमा ४ जना केन्द्रीय समितिका सदस्य र केन्द्रीय कार्यालयका केही कर्मचारीहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक २५ गतेसम्मका लागि स्थगित भएकोे छ। पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य कार्यालयको विविध जिम्मेवारीमा रहेका केही व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको थियो।
यसैगरी काठमाडौं बाहिर पीसीआर परीक्षण गरेका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजयकुमार चौरसियामा पनि सङ्क्रमण पुष्टि भएकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी आजलाई बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरेर आगामी २५ गते दिउँसो २ः०० बजेका लागि निर्धारित गरिएको छ।
२५ गतेका लागि बैठक बोलाए पनि ६ दिनमै संक्रमित ठिक नहुने भएकोले २५ गतेको बैठक पनि हुने नहुने विषयमा अन्यौलता छाएको छ । आजबाट ५ दिनका लागि कांग्रेस केन्द्रीय कार्यालय समेत बन्द गरेको छ।
नेपाली कांग्रेसले सङ्क्रमण देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शिघ्र सङ्क्रमण मुक्तिको कामना समेत गरेको छ ।