काठमाडौं । नेपालको चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले २७ दिनपछि अनसन तोडेका छन्। शनिबार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइवार बिहान ९ बजे डा.केसीले अनसन तोडेका हुन्। डा.केसीले कोरोना संक्रमण भएर निको भएका शिक्षण अस्पतालका एक सफाई कर्मचारीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।
डा.केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
के भयो सहमति?
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने, कोभिड-१९को पिसिआर परीक्षण विस्तार गर्ने, वयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने सहमति पनि सरकार र डा.केसीबीच भएको छ।
यस्तैगरी विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निस्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्त गर्ने सहमति भएको छ। डा.केसीले ६ बुँदे माग राखेर जुम्लामा भदौ २९ गते अनशन थालेका थिए।