काठमाडौं । सरकारले दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी-महाराजगन्ज धोबीखोला खण्ड विस्तार कार्यलाई तीव्रता दिने तयारी गरेको छ। केही समययता कोरोना भाइरसलगायतका कारण विस्तारमा ढिलाइ हुँदै आएकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले विस्तारको काम तीव्र पार्ने पहल अगाडि बढाएका छन्।
यातायात मन्त्री नेम्वाङको पहलमा एक महिनाभित्र घर भत्काउने र प्रसारण लाइनको टावर सार्ने बाहेकका साइट क्लियरेन्सको काम सक्ने गरी कार्यतालिका तय गरिएको छ।
चक्रपथ विस्तारको दोस्रो चरणका कामलाई तत्काल गति दिन विभिन्न चार निर्णय भएको मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा भएको सरोकारवालाको बैठकले नेपाल विद्युत् प्राधिकरणले कात्तिक मसान्तभित्र सबै पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सकाउने र पुस मसान्तभित्र कारखाना चोक र सानोभ-याङस्थित हाइ भोल्टेज टावर सार्ने तालिका तय गरेको छ।
सडक सीमासम्बन्धी रहेको अन्योलबारे राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशीघ्र नीतिगत निर्णय गरिएको छ। काठमाडौं महानगरपालिकासँगको समन्वयमा काठमाडौं चक्रपथ सुधार योजनाले कात्तिक मसान्तभित्र नयाँ बसपार्कको अकासे पुल भत्काउने सहमति भएको छ भने स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर नारायणगोपाल चोकको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कात्तिक मसान्तभित्र सक्ने भएको छ। चीन सरकारको सहयोगमा चक्रपथको दोस्रो खण्ड विस्तार गर्न लागिएको छ। चीनले साइट क्लियर नगरी काम सुरु नगर्ने बताएपछि सरकार साइट क्लियर गर्न जुटेको हो ।-राजधानी।