× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

दशैं बिदा लिएका सैनिकलाई आफ्नै जहाज र बसमा घरसम्मै पु-याइने

Simrik Online

२ कार्तिक २०७७, सोमबार

काठमाडौं । कोरोना महामारी सुरु भएपछि सैनिकलाई बिदा रोक लगाएको नेपाली सेनाले सकेसम्म कम जनशक्तिलाई आवश्यकता हेरेर दशैंमा आफ्नै जहाज, हेलिकप्टर र बस मार्फत् घरसम्म पुर्याउन तयारी थालेको छ।

जंगिअड्डाले दशैं बिदामा सकेसम्म कम जनशक्तिलाई आवश्यकता र प्राथमिकताका आधारमा बिदा दिएर घरसम्म नै पु-याउने व्यवस्था गर्न लागेको हो। दशैं बिदामा घर जानेहरु भने क्वारेन्टाइन बसेका र सुरक्षा मापदण्ड पुरा गरेकाहरु मात्र हुनेछन्।

नेपाली सेनाका प्रवक्ता एवम् सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्भव भएसम्म आवश्यकता र प्राथमिकता हेरेर कम जनशक्तिलाई बिदा पठाइने गरी तयारी गरिएको जानकारी दिए।

‘कोरोना संक्रमण सुरु भएदेखि बिदा रोकिएको अवस्था थियो, लामो समयसम्म बिदा नदिइएका कारण आवश्यकता र प्राथमिकता हेरेर आफ्नै जहाज तथा सवारीमा घरसम्म पठाइने गरी तयारी भइरहेको छ,’ सैनिक प्रवक्ता पौडेलले राजधानीसँग भने।

सेनाले सार्वजनिक यातायातका साधनमा संक्रमणको जोखि हुने भएका कारण यात्रा असुरक्षित हुन सक्ने र सोही कारण गाउँघरसम्म नै संक्रमण पुग्न सक्ने भन्दै आफ्नै जहाज, हेलिकप्टर र बसमार्फत सैनिकलाई घरसम्म पुर्याउने तयारी गरिरहेको हो।

यसरी जाने सैनिक सहित सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले व्यवस्थापनको काम गरिरहेको छ। हाल सेनासँग रहेका चार वटा ठूला हेलिकोप्टर मध्ये दुई संचालनमा छन्। यस्तै तीन साना हेलिकप्टरमध्ये दुई वटा संचालनमा छ भने तीन स्काइट्रक तथा एउटा ४२ सिटे ठूलो जहाज छ।

यी विभिन्न माध्यममध्ये टाढा घर भएका तथा हिमाली र पहाडी क्षेत्रमा घर भएकाहरुलाई विमान तथा हेलिकप्टरमार्फत नजिकको विमानस्थल वा ब्यारेकसम्म लगेर त्यहाँबाट नजिक रहेका सम्वन्धित ब्यारेकले नै घरसम्म पुर्याउने व्यवस्था गर्ने छन्। यस्तै सडक सुविधा भएका र नजिक रहेकाहरुलाई बसमार्फत पुर्याइने छ।

यसरी दशैं बिदामा घर गएकाहरु बिदा सकेर फर्किंदा पनि यही प्रक्रियामार्फत फर्कने छन्। तर बिदा सकेर आएपछि भने उनीहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने छ भने सो क्रममा कुनै समस्या देखिए पीसीआर गरिने छ। तर स्वास्थ्यमा कुनै समस्या नदेखिए उनीहरुलाई नियमित काममा खटाइने छ।

हालसम्म नेपाली सेनाका ३ हजार २ सय ४४ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ। यसमध्ये १ हजार ७ सय ६७ जना निको भएर काममा फर्किएका छन भने १ हजार ४ सय ७५ जना अझै उपचाररत छन्। कोरोना संक्रमणकै कारण हालसम्म दुई सैनिकको ज्यान समेत गएके छ।-राजधानी।