× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

‘रअ’ प्रमुखसँग भेटवार्ता भएको छैन : तीन पूर्वप्रधानमन्त्री

Simrik Online

६ कार्तिक २०७७, शुक्रबार

काठमाडौं । तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारेका छन्। प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका छन्।

प्रचण्डका सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आमजनसमुदाय तथा सञ्चार जगत्लाई भ्रममा नपर्न अपिल गर्दछु।’

त्यस्तै, वरिष्ठनेता नेपालका स्वकीयसचिव मोहन गौतमले पनि विज्ञप्तिमार्फत भ्रममा नपर्न अनुरोध गरेका छन्। ‘पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र ‘रअ’का प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यसप्रकारका समाचारबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गौतमको विज्ञप्तिमा छ।

उता, कांग्रेस सभापति देउवाको सचिवालयले पनि ‘रअ’का प्रमुख गोयलसँग देउवाको भेटवार्ता नभएको स्पष्ट पारेको छ। देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री देउवासँग गोयलको भेटवार्ता भएको खबर कपोलकल्पित र निराधार भएको बताए।-नयाँपत्रिका।