× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

भारतीय विदेश सचिव काठमाडौं आउँदै, नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारी

Simrik Online

२४ कार्तिक २०७७, मंगलवार

काठमाडौं । भारतीय सेनापति मनोजमुकुन्द नरवणेको तीनदिने नेपाल भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्रसचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडि बढाइएको छ।

समाचार स्रोतका अनुसार भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने लगभग निश्चित भएको छ। यकिन मिति केही दिनमा नै सार्वजनिक हुने स्रोतको दाबी छ।

विदेश सचिवको जिम्मेवारी सम्हालेपछि उनले अन्य छिमेकी मुलुकको भ्रमण गरेपनि नेपालको गरेका छैनन्। छिमेकी मुलुकको भ्रमणकै सिलसिलामा श्रृंगला आइतबारदेखि छिमेकी मुलुक माल्दिभ्सको भ्रमणमा छन्।

नेपाल भ्रमणको क्रममा कालापानी, लिपुलेक, सुस्ता लगायतका विषयमा कुराकानी हुने वा नहुने भन्ने यकिन छैन। दुई देशको बिचमा सन् २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएको थियो तर सीमा केन्द्रित एउटा बैठक पनि बसेको छैन।

यद्यपि सो भ्रमणको समयमा अन्य द्विपक्षीय एजेण्डाहरुको बारेमा भने छलफल हुनेछ। सो छलफलले नेपाल-भारत संयुक्त आयोगको बैठकका लागि आधार तयार पार्ने अधिकारीहरुको भनाइ छ।

दुवैदेशका परराष्ट्र सचिवले नेतृत्व गर्ने संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा अर्काे महिना गर्ने तयारी भइरहेको छ। सो आयोगले समग्र द्विपक्षीय विषयहरुमा गहन छलफल गरी समाधानका लागि कर्मचारीतन्त्रलाई निर्देशन दिनेछ। सो आयोगको बैठकमा सीमा विवादका सम्बन्धमा कुराकानी हुने छ। यसपटक आयोगको बैठक नयाँ दिल्लीमा हुने कार्यक्रम छ।

त्यसैगरी दुई देशको बिचमा सुस्ता र कालापानीबाहेक अन्य क्षेत्रमा देखिएका सीमा सम्बन्धी प्राविधिक समस्याहरु समाधन गर्न गठन गरिएको बाउन्ड्री वर्किङ गु्रप बैठकको तयारीसमेत अगाडि बढाइएको छ।

सो बैठकका लागि नेपालले अगष्ट महिनामा नै प्रस्ताव गरेपनि भारत तयार भएको थिएन तर पछिल्लो समयमा सो बैठकका लागि भारत सकारात्मक देखिएको छ।-अनलाइनखबर।