काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रिक्त रहेको सचिवको पदमा डा.योगेन्द्रबहादुर कार्कीको नाम पुनः सिफारिस भएको छ। हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव रहेका कार्कीको नाम बढुवा सिफारिस समितिले सिफारिस गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत सोमबार बसेको बैठकले उनको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। निजामती सेवा ऐन अनुसार, कार्यसम्पदान मूल्याङ्कनका आधारमा (८० प्रतिशत) हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौ पटक ज्येष्ठताका आधारमा (२० प्रतिशत) एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।
यसअघि कार्कीको नाम बढुवाको लागि पटक पटक सिफारिस भए पनि पद बढुवा भने भएको थिएन। मन्त्रीपरिषद्को आगामी बैठकबाट डा.कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय हुने बताइएको छ।