काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा रहेको बताएका छन्।
पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भनेका छन्, “नेपाली भनेका नेपाली नै हुन्। कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौं। यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं।”
शाहले जनचाहनाअनुसार अघि बढ्नु शाहवंशीय राजपरम्पराका विशेषता भएको तथ्य कसैबाट नपिछेको पनि उल्लेख गरेका छन्।
“राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्,” शाहले भनेका छन्, “हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहँदै आएको छ। हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो। तर हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ। परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म-संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नु परेको छ।”