आयुसा बास्तोला, सोलुखुम्बु । नेकपा सोलुखुम्बु (ओली समूह)को अध्यक्षमा डुफकुमार बास्तोला चयन भएका छन् । नेकपा सोलुखुम्बु (ओलीपक्ष) को सोमबार सल्लेरीमा नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा “बादल”को प्रमुख आतिथ्यतामा भएको अगुवा कार्यकर्ता भेलामा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बास्तोलालाई अध्यक्षमा चयन गरिएको घोषणा गरेका हुन् ।
यसअघि नेकपा सोलुखुम्बुका अध्यक्ष रहेका मानवीर राई (ओली पक्ष) नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएपछि बास्तोलालाई सोलुखुम्बु पार्टीको जिम्मेवारी दिइएको बताइएको छ ।
यस्तै जिल्ला पार्टी कमिटीको सचिवमा आशकुमार खालिङ राई ‘शिशिर’लाई जिम्मेवारी दिइएको छ । पूर्व नेकपा माओवादी केन्द्र सम्बद्ध शिशिर स्थानीय तहको गत निर्वाचनमा माप्यदुधकोशी गाउँपालिकाको अध्यक्षको उम्मेदवार थिए ।
नेकपामा फुट देखिएपछि सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य एवं पार्टी ईन्चार्ज हेमकुमार राई (शुरवीर) र पार्टी सचिव गोम्बु शेर्पा “कर्ज्याङ” दहाल-नेपाल पक्षमा तथा जिल्ला अध्यक्ष मानवीर राई सहित प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत लगायतका नेताहरु ओली पक्षमा लागेका छन् ।