काठमाडौं । म्यानमारमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि म्यानमार प्रहरीले मुद्दा दायर गरेको छ। सोमबार सैन्य कू भएपछि हिरासतमा लिइएकी नेतृमाथि बुधबार प्रहरीले मुद्दा दायर भएको हो।
म्यानमारको प्रहरीको कागजातअनुसार सुकीलाई १५ फेब्रुअरीसम्मका लागि हिरासतको म्याद थपिएको छ। सुकीमाथि दायर गरिएको मुद्दामा उनले आयात/निर्यातको कानुन उल्लंघन गरेको तथा अवैध सञ्चार उपकरण प्रयोग गरेको उल्लेख छ।
यद्यपि अहिले सुकीलाई कहाँ राखिएको छ भन्ने खुलेको छैन। सोमबार कू गरिएसँगै उनलाई छुट्टै राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। केही सञ्चारमाध्यमहरुले भने उनलाई आफ्नै घरमा राखिएको बताएका छन्।
कू गरिएसँगै हिरासतमा लिइएका राष्ट्रपति विन मिन्टलाई पनि मुद्दा दायर गरिएको छ। उनलाई भने कोरोना महामारी नियन्त्रणको लागि भिड जम्मा गर्नमा लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइएको छ। उनलाई पनि दुई साताका लागि हिरासतको म्याद थपिएको छ।
म्यानमारमा कू भएपछि राष्ट्रपति र सुकीलाई सार्वजनिक गरिएको छैन।-अनलाइनखबर।