आयुसा बास्तोला, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले अब छिट्टै सोलुखुम्बुमा पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने बताएका छन् । काङ्ग्रेस केन्द्रीय समितिको निर्णयले तोकेको समयसिमा भित्र जिल्लाबाट नयाँ तथा नवीकरण फारम पठाइसक्ने जिल्ला सभापति बस्नेतले बताएका छन् ।
सोलुखुम्बु कांग्रेसले १ हजार ७ सय ३० नविकरण र १ हजार ७ सय ३० नयाँ क्रियाशील सदस्यताको फारम प्राप्त गरेको बताइएको छ।
नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार माघ मसान्त भित्र प्रत्येक जिल्लाले क्रियाशिल पठाउनुपर्ने भएपनि सोलुखुम्बु, सप्तरी, बारा र सिन्धुपाल्चोक सहित पाँच जिल्लाले क्रियाशील फारम नै बुझ्न सकेका थिएनन्। सोलुखुम्बु कांग्रेसले फारम बुझेसंगै अब अझै चार जिल्ला क्रियाशील सदस्यताबाट बञ्चित भएका छन्।
सभापति देउवाले विधि र प्रक्रियामा सबैलाई सहभागी गराई क्रियाशिल वितरण गर्नुपर्ने निर्देशन सहित सोलुखुम्बु कांग्रेस सभापति बस्नेतलाई फारम बुझाएको बताइएको छ । जिल्ला सभापति बिनोदकुमार बस्नेतले पनि पार्टीको विधि र विधान विपरित नवीकरण र नयाँ सदस्यता वितरण नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।