× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

बालुवाटारमा जसपासँग वार्ता : सत्ता साझेदारीका लागि ‘सकारात्मक’ छलफल

Simrik Online

९ चैत्र २०७७, मंगलवार

काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीका विषयमा छलफल गरेको छ । मंगलबार बिहान बालुवाटारमा जसपा नेता र सरकारी कार्यदलबीच छलफल भएको हो । छलफलमा सहभागी एक सदस्यका अनुसार जसपाले अगाडि सारेका माग तथा सर्तलाई सम्बोधन गरेर सत्ता साझेदारी गर्ने विषयमा सकारात्मक संवाद भएको छ । ‘संवाद सकारात्मक भएको छ’, ती सदस्यले भने, ‘हामी छिट्टै निष्कर्षमा पुग्छौँ ।’

जसपाले सरकारसँग वार्ताको जिम्मेवारी लक्षमणलाल कर्ण र सर्वेन्द्रनाथ शुल्लालाई दिएको छ । सत्ता साझेदारीको गृहकार्यका लागि सरकारले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईलाई जिम्मेवारी दिएको छ ।

यसअघि पनि प्रधानमन्‍त्रीकै उपस्थितिमा जसपाका शीर्ष नेताहरू महन्थ ठाकूर, राजेन्द्र महतोलगायतसँग पटकपटक बालुवाटारमा वार्ता भएको छ । प्रधानमन्‍त्री केपी ओली जसपाले अघि सारेका माग सम्बोधनमा सकारात्मक देखिएकोले छिटै ठोस् समझदारी हुने बताइएको छ ।

जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा झुटा मुद्दा लगाइएका व्यक्तिहरूको मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टिकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ ।