× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

निर्वाचन खर्च ९ अर्ब लाग्ने

Simrik Online

८ जेष्ठ २०७८, आईतवार

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोग कोरोना महामारीका बीच कसरी निर्वाचन गर्ने भन्ने रणनीतिका साथ निर्वाचनको तयारीमा जुट्ने बताएका छन् ।

कोरोना महामारीकै बीच विभिन्न देशमा निर्वाचन सम्पन्न भएकाले त्यहाँको अनुभवहरु अध्ययन गरेर त्यही अनुरूप तयारी थालिने स्पष्ट पार्दै थपलियाले आयोग निर्वाचन सम्पन्न गर्नका आवश्यक बजेटको अध्ययनमा जुटेको जानकारी दिए । निर्वाचन तयारीका लागि आयोगलाई ६ महिना समय भएकाले यो पर्याप्त भएको बताउँदै थपलियाले आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्दा ९ अर्ब रुपैयाँको हाराहारीमा खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

आयोग तयारीमा जुटेको छ । अबको निर्वाचनमा खर्च अलि धेरै लाग्छ’, उनले भने ‘हामी अब बिस्तारै खर्चदेखि सबै कुराको अनुमान गर्छौं अनि सरकारलाई पठाउँछौं ।’

‘केही दिन अघि राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेकाले केही अनुभव भएको छ ’, उनले भने ‘अलि टाढा बसेर स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गराउने तयारी गर्छौं ।’

संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकारको नेतृत्वका लागि देउवा र ओलीको प्रस्ताव दावी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेपछि शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार राष्ट्रपति भण्डारीले कार्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको घोषणा गरेकी छन् ।