काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।
अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ । यसअघि बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो।
त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । केही दिनअघि नै सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश राष्ट्रपतिले आइतबार जारी गरेकी हुन् ।