काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको दाबी गरिएको छ । सहमति भएको विषयमा भाषा मिलाएर शनिबारको बैठकबाट सार्वजनिक गरिने एमाले नेताहरूको दाबी छ । आज बस्ने कार्यदलको बैठकमा सहमतिको खाका बनाएर आजै शीर्ष नेतालाई बुझाउने कार्यदलको तयारी छ ।
कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । कार्यदलका सदस्यद्वय प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने विषयमा सहमतिको निष्कर्ष निकालेको दाबी गरे ।
‘मस्यौदामा छलफल गर्यौँ । मस्यौदामा हामीलाई लागेका सुझावहरू दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरूलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न छ । पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडी बढाउन सकिन्छ भन्ने केही बुँदाहरूमा हामीले आफ्ना धारणाहरूलाई सहमतिका साथ बनाउने प्रयत्न गरेका छौँ’ अर्का सदस्य रघुजी पन्तले भने ‘साथीहरूले राखेका भावना, धारणा र विचारहरूलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रुप दिने प्रयास भइरहेको छ ।’
कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरूले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् । जेठ २ गते गठन भएको कार्यदलले गएको सोमबारदेखि छलफल शुरु गरेको थियो ।
एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले ‘अदालत विचाराधीन मुद्दाबाट नाम फिर्ता लिने गरी वा त्यसलाई प्रभावित गर्नेगरी गरिने कुनै पनि सम्झौता नमान्ने’ बताए । विघटित प्रतिनिधिसभाका एमाले सदस्य खतिवडाले भने, ‘हामी माधवकुमार नेपालले भने पनि मान्नेवाला छैनौँ ।’ – इकागज ।