काठमाडौं । नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको पार्टी शीर्ष नेताहरुको बैठकले तल्लो तहको अधिवेशन सार्ने तर, केन्द्रीय महाधिवेशन भने भदौ १६ मै गर्ने गरी निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए । तल्लो तहको अधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरु पुन: छलफलमा बसेर टुंगो लाग्ने उनको भनाइ छ।
आजको बैठकमा कांग्रेसको निर्वाचन निर्देशिकाको मस्यौदा पेश भएको छ। उक्त निर्देशिकालाई अन्तिम रुप दिन पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई जिम्मा लगाइएको छ।
त्यस्तै क्रियाशील सदस्यता छानविन समितिले सप्तरी र धनुषाको विवादको विषयमा पनि आज शीर्ष नेताहरुलाई जानकारी गराएको छ। नेता लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धी काम अन्तिम चरणमा पुगेको पनि बताए। उनले केही जिल्लाको विवरणलाई अन्तिम रुप दिन बाँकी रहेको पनि बताए।
आजको बैठकमा निर्वाचन समिति, सदस्यता छानबिन समिति, समायाेजन समितिको विषयमा छलफल भएको लेखकको भनाइ छ।