× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

संसदको अंकगणित यस्तो छ, क-कसले दिन्छन् विश्वासको मत

Simrik Online

२ श्रावण २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आजै विश्वासको मत लिने तयारी छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजै विश्वासको मत लिने प्रस्ताव लिएर पुगेका छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता भए पनि आजै लिने तयारी गरेका हुन् ।

उनले विश्वासको मत लिनका लागि प्रस्तावको पक्षमा १३६ मत आवश्यक पर्छ । त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन् । कांग्रेसका दुईजना सांसद निलम्बित अवस्थामा छन् । विजयकुमार गच्छदार र अफ्ताव आलमले मत दिन पाउने छैनन् । तर कायम संख्यामा भने उनीहरुको गणना हुनेछ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चारजना बर्खास्तमा परेका छन् । उनीहरु अहिले सांसद पदमा छैनन्। स्वतन्त्ररुपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउनेछन् ।

नेकपा एमालेमै रहेकाले माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो ।

जनता समाजवादी पार्टीका जम्मा ३२ सांसद रहेका छन् । ३४ मध्ये दुईजना निलम्बित छन् । रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन् ।

त्यसैले ३२ मध्ये अधिकांश सदस्य बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा रहेको स्रोत बताउँछ । यसअघि शनिबार बसेको सो समूहको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो समूहका पाँच सांसद उपस्थित भएका थिए।

माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए। सो समूहले मतदान नगरे देउवाले विश्वासको मत प्राप्त गर्ने छैनन् ।

संसद्मा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ । त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् ।