काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव पेश गरेका छन्। एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका छन्।
ओलीको प्रस्तावको स्वागत गर्दै बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए । एमाले केन्द्रीय कमिटीको बैठक च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको हो।
हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए भने १० सांसद तटस्थ बसेका थिए । मत दिने २२ सांसदमध्ये यसअघि ओली पक्षमा खुल्दै आएका ८ जना पनि छन् । उनीहरुले माधवकुमार नेपालसँगै फ्लोर क्रस गरेर देउवालाई मत दिन गएका थिए ।
नेता विष्णु रिमालले सामाजिक सञ्जालमा लेखेर आजको बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।