काठमाडौं । आपूर्ति र वितरण प्रणालीलाई सुधार गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम लागू गरेको छ । योसँगै निगमका सम्पूर्ण कार्यहरु डिजिटलाइज भएका छन् । यस प्रणालीले आपूर्तिसँगै फाइनान्स र गुणस्तरमा पनि नियन्त्रण हुने निगमको विश्वास रहेको छ । ईआरपी प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछन् ।
निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ईआरपीको माध्यमबाट आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा जोडिएका छन् ।
पुरानो सफ्टवेयरअन्तर्गत व्यवसायीले बिहान इन्धनको माग टिपाउने । त्यसबापतको रकम बैंकमा जम्मा गर्ने । बैंक भौचर निगममा बुझाएपछि मात्रै इन्धन लोड गर्न पाउने झन्झटबाट छुटकारा पाएका छन् । अब आर्थिक कारोबार फोनबाटै अनलाइनमार्फत गर्न सकिन्छ ।
यो प्रणालीमा आर्थिक कारोबारमा मिलान गर्ने ठाउँ रहँदैन । जसले गर्दा व्यवसायीहरूले आलटाल गरिरहेको निगमको दाबी छ । ईआरपी प्रणाली प्रमुख नेपालले पनि अनलाइनमार्फत भुक्तानी हुँदा आर्थिक पारदर्शिता हुने उपाध्यायकाे भनाइ छ ।
अब म्यानेजमेन्ट इन्फरमेसन सिस्टम, एकाउन्टिङ सिस्टम र सुरक्षित तथ्यांक भण्डारणलगायतका कार्य पनि डिजिटल नै हुनेछन् । एक क्लिकमा देशभरको तथ्यांक हेर्न सकिने निगमको दाबी छ ।
इलकिङ र जीपीएस प्रणाली नहुँदा ट्यांकरबाट इन्धन चोरी हुने क्रम रोकिएको छैन । त्यसलाई नियन्त्रण गर्न पनि यो प्रणाली आवश्यक रहेको निगमको भनाइ छ । – दृष्टि ।