काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए।
“विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्त्वपूर्ण हो,” प्रधानमन्त्री देउवाले भने, “महामारीबाट बाहिर निस्किने विषय सबैभन्दा चुनौतीपूर्ण छ, त्यस कारण हाम्रो पहिलो प्राथमिकता नै निःशुल्क खोप वितरण हो।”
प्रधानमन्त्री देउवाले परिसङ्घले नेपाली वस्तुको उत्पादन एवं उपभोग बढाउने योजनासहित अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले नेपालमा औद्योगीकरणलाई प्रवर्द्धन गर्ने बताए।