काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्ने आफ्नो ध्येय रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले आर्थिक वृद्धि, पुँजीगत खर्च सन्तोषजनक नभएको बताए।
“कोभिडले अर्थतन्त्र थलिएको छ, गरिबी बढेको छ, बेरोजगारीको संख्या बढेको छ। चुनौतीपूर्ण समयमा अर्थ मन्त्रालयको जिम्मेवारी पाएको छु । अर्थतन्त्रलाई गतिशील बनाउने दृढ इच्छाशक्ति लिएको छु,” उनले भने।मन्त्री शर्माले गत आर्थिक वर्षमा ६३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै यो सन्तोषजनक नभएको बताए । उनले पुँजीगत बजेट नै थोरै विनियोजन गरिने भएपनि त्यो पनि खर्च गर्न नसकिएको बताए ।
“पुँजीगत ६३ प्रतिशत छ । आर्थिक वृद्धि सन्तोषप्रद छैन । पुँजीगत खर्च थोरै विनियोजन गरिन्छ, त्यसमा पनि खर्च हुँदैन । पुँजीगत बजेट पनि बढाउनुपर्ने र खर्च पनि बढाउनुपर्ने छ,” उनले भने।
मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको भन्दै उनले ‘सहकार्य गर्न एउटा प्रोजेक्ट’ बनाउने पनि बताए । कस्तो खालको प्रोजेक्ट हो भन्ने विषयमा भने उनले खुलाएनन् ।
मन्त्री शर्माले राज्य संरचना सहजीकरण गर्ने खालको हुनुपर्नेमा उल्टै संरचनाले नै जटिलता थपिदिएको भन्दै त्यसमा काम गर्ने पनि बताए ।
“कोभिडका कारण पर्यटन, यातायात, क्याटरिङलगायत व्यापार व्यवसाय एक अर्कामा आश्रित छ, ती सबै क्षेत्र अहिले संकटमा छ । त्यसका लागि काम गर्नुपर्ने छ,” उनले भने ।