काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन तीन महिना पर धकेलिएको छ। बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिरको ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ। बैठकले तल्ला तहको अधिवेशन भने भदौ १८ गतेदेखि नै सुरु गर्ने भएको छ।
भदौ १८ गते वडाअधिवेशन, २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ गते प्रतिनिधिसभा क्षेत्रीय समिति र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र १० गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ।
सहमहामन्त्री प्रकाशसरण महतले भदौ १८ बाट तल्लो तहको अधिवेशन गर्ने र मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भएको जानकारी दिए। आगामी असोज २३ गते कांग्रेसको वैधानिक कार्यकाल सकिँदै छ। पार्टीको वैधानिकता पनि जोगिने र महाधिवेशनका लागि समेत हतारो नहुने गरी मंसिरका लागि कार्यतालिका ल्याइएको नेताहरूको भनाइ छ। कांग्रेसले यसअघि भदौको १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो।
महाधिवेशनको नयाँ कार्यतालिका :
क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने २०७८।५।२
निर्वाचन निर्देशिका बुझाउने २०७८।५।२
वडा अधिवेशन २०७८–५ –१८
गाउँपालिका/नगरपालिका २०७८–५–२७
प्रदेश क्षेत्र क/ख २०७८–६–१
संघीय निर्वाचन क्षेत्र वा १ निर्वाचन क्षेत्र भएको जिल्ला २०७८–६–५
जिल्ला २०७८–६–१०
प्रदेश २०७८–७–१० देखि १२
केन्द्रीय २०७८ मंसिर ९ देखि १३