काठमाडौं । नेपाली कांग्रेसले शिक्षक र विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव गरेको छ। कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति-२०७८’ को प्रतिवेदनमार्फत यस्तो प्रस्ताव गरेको हो। कांग्रेस शिक्षा विभागद्वारा शनिबार सार्वजनिक प्रतिवेदनमा भनिएको छ, “शिक्षक, प्राध्यापक तथा विद्यार्थीलाई दलीय राजनीति गर्ने कार्यबाट अलग राख्नुपर्ने।” कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको नेतृत्वमा तयार भएको प्रतिवेदनमा शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप हुनबाट रोक्नुपर्ने उल्लेख छ।
प्रस्तावित प्रतिवेदनमा शिक्षा प्रणालीलाई ज्ञान व्यवस्था तथा ज्ञान अर्थ व्यवस्थामा आधारित बनाई प्रजातान्त्रिक आचरण भएको सामाजिक रुपान्तरण, आर्थिक विकास र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ। यो नीति कांग्रेसको १४ औं महाधिवेशनबाट पारित भएपछि मात्रै लागु हुने केन्द्रीय सदस्य नेपालले जानकारी दिए।